काठमाडौँ । कुनै पनि देश, समाज वा व्यवसायिक संघ–संस्थालाई समृद्ध बनाउने भनेको त्यसका आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग नै हो । स्रोत–साधनभित्र जमिन, मानव संसाधन, नदी, वनजंगल लगायत थुप्रै तत्वहरू पर्दछन् । यी सबैलाई चलायमान र उत्पादक बनाउन नेतृत्वमा ठोस कार्यदिशा अनिवार्य हुन्छ ।
नेपालका विकासका कुरा गर्दा एउटा प्रश्न स्वाभाविक रूपले उठ्छ, ‘के हामीले देखिरहेको विकास साँच्चै विकास हो? त्यो कसका लागि हो—हाम्रै लागि कि कुनै सीमित समूहका लागि ?’
हाल नेपालमा सडक र पूर्वाधार विस्तार व्यापक रूपमा भइरहेको देखिन्छ। मोटरबाटो बन्दा सहजता बढ्छ, समय बच्छ—यो कुरा अस्वीकार गर्न सकिँदैन । तर मुख्य प्रश्न भनेको, यी बाटाघाटा गाउँमा उत्पादन भएको वस्तु बजार हुँदै भारत तथा अन्य देशमा बेच्नका लागि बनेका हुन् कि बहुराष्ट्रिय कम्पनीको सामान गाउँ–गाउँ पु¥याउनका लागि ?
बहुराष्ट्रिय कम्पनीले विभिन्न देशमा लगानी गर्नुको उद्देश्य स्पष्ट छ—उत्पादन बेच्छन्, बजार कब्जा गर्छन् । रेड बुल, कोकाकोला, आइफोन लगायतका उत्पादनहरूलाई गाउँ–गाउँ पु¥याउनु तिनको प्राथमिकता हो ।
र जबसम्म हाम्रो देशले आफ्नै उत्पादन गर्न सक्दैन, तबसम्म नेपाल बहुराष्ट्रिय कम्पनीका दृष्टिमा, ‘राम्रो ग्राहक र सस्तो श्रमिक’ बाहेक अरू केही हुँदैन । त्यसैले अबको नेतृत्वले उत्पादनमूलक कार्यक्रम बिना दाबी गरेर मेरो नेतृत्व हुनै सक्दैन।
आजको आवश्यकतामाः
पानीलाई चलायमान बनाउन के योजना छ ?
जंगललाई उत्पादक बनाउन कसरी ?
नीतिगत रूपमा कसरी अग्रमै जाने ?
परराष्ट्र नीति कस्तो हुने ?
छिमेकसँग साझेदार विकास कसरी सम्भव ?
हाम्रो छिमेकीसँग न त झुक्नु पर्ने, न त झर्किनु पर्ने, तर विश्वास, स्पष्टता र साझेदारी चाहिन्छ ।
हामी नेपाली नयाँ कुरा चाँडै अंगाल्छौँ, तर नयाँ भनेको कपाल कालो वा सेतो होइन, देश विकासको ठोस योजना, इमान्दार नेतृत्व र उत्पादक अर्थतन्त्र हो।
यदि आगामी नेतृत्वले पनि उत्पादनमूलक चेतना नल्याए, नेपाल अझै निर्धन, निर्भर र उदोगतिर झर्ने जोखिम बढ्दै जान्छ। युवाहरू विदेश जान बाध्य हुने, त्यहाँ सस्तो श्रमिक बनेर कमाएको पैसा नेपाल पठाउने, र त्यो पैसाले फेरि बहुराष्ट्रिय कम्पनीकै सामान किन्दै जाने,यसरी हामीले युवापन बेच्दै, परिवारसँग बस्ने अवसर गुमाउँदै गएको तितो यथार्थ छ।
अन्ततः
नेतृत्व त नागरिकबाटै जन्मिन्छ। हामी जस्तै छौँ, नेतृत्व पनि उस्तै बन्छ। त्यसैले परिवर्तन हाम्रो सुधारबाटै सुरु हुन्छ।
समाधानको बाटो
हामी चाहन्छौँ, यस्तो नेतृत्व जसले
उत्पादनमा सरकार र नागरिक दुबैलाई जोड्ने,
–छिमेकसँग सन्तुलित र व्यवहारिक सम्बन्ध राख्ने,
–विकासलाई साझेदारी र उत्पादनमा आधारित बनाउने,
–स्रोत–साधनको अधिकतम उपयोग गर्ने
स्पष्ट कार्यदिशा प्रस्तुत गरोस्।

