काठमाडौँ । नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीको संरचना तय गरेको छ । पार्टीको बन्दसत्र काठमाडौंको भृकुटिमण्डपमा जारी छ ।
जारी बन्दसत्रमा विधान संशोधनसहितको प्रस्ताव पेश हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको हो ।
बन्दसत्रले पारित गरेको प्रस्तावअनुसार, ७ प्रदेश र एउटा उपत्यका प्रदेशबाट ४० वर्षमुनिका एक सदस्य चयन गरिनेछ। त्यस्तै, खुल्लाबाट ६ र महिलाबाट तीन सदस्य चयन हुनेछन्।
त्यस्तै, पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटी बनाइने पनि उनले जानकारी दिए । उनका अनुसार, पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटी भने २ सय ५१ बाट बढाएर ३ सय १ जनाको बनाइएको छ ।
यसैगरी, महिलाबाट ७३ केन्द्रीय सदस्य आउनेछन्। जसमा महिलामध्ये खुल्ला प्रतिस्पर्धाबाट ५२, जनजातीबाट दुई र युवा १७ जना आउनेछन्।
त्यस्तै, मधेसबाट युवा दुई, खुल्ला ८ र महिला ४ जना चयन गर्नुपर्नेछ। दलितबाट युवा १, खुल्ला ८ र महिला ४ जना आउने व्यवस्था गरिएको छ।
यसैगरी, प्रवासमा भारतबाट एक र अन्य देशबाट एक जना केन्द्रीय सदस्य आउनेछन्। अपाङ्गता भएका व्यक्तिबाट एक जना आउने व्यवस्था गरिएको ती नेताले जानकारी दिए।

