काठमाडौँ । इन्टेरियर, फर्निचर तथा काष्ठ उद्योगसँग सम्बन्धित नेपालको प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ यही पुस ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा हुने उक्त प्रदर्शनी 11th Nepal Wood International Expo तथा Nepal Interior & Furniture Expo का रूपमा सञ्चालन हुँदैछ।
दश वर्षभन्दा लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रदर्शनीको यो एघारौँ संस्करण हो। आयोजकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डका १०० भन्दा बढी स्टल रहनेछन्। फर्निचर, प्लाइउड, काठसम्बन्धी औजार तथा मेसिनरी, ल्यामिनेट, हार्डवेयर, होम टेक्सटाइल, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादन सामग्रीहरूको उल्लेखनीय सहभागिता रहनेछ।
प्रदर्शनीले काठ, फर्निचर र इन्टेरियर क्षेत्रमा प्रयोग भइरहेका प्रविधि, उत्पादन र सेवाबारे जानकारी गराउँदै नवीनतम अन्तर्राष्ट्रिय प्रविधि नेपाली बजारमा भित्र्याउने प्लेटफर्मको रूपमा भूमिका खेल्दै आएको आयोजकको दाबी छ। यस एघारौँ संस्करणमा संसारभरका ख्यातिप्राप्त कम्पनी तथा ब्राण्डका अत्याधुनिक उत्पादन र टेक्नोलोजीलाई स्वदेशी उद्योगमा प्रयोग गराउने उद्देश्य राखिएको छ।
यसले साना, मझौला तथा ठूला उद्योगलाई आफ्ना मेसिन तथा उत्पादन प्रणालीलाई थप उन्नत र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल सहयोगी संस्थाका रूपमा रहेका छन्।
त्यसैगरी, इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञद्वारा नविनतम प्रविधि, इन्टेरियर डिजाइन, फर्निचर लगायत विषयमा दुई दिने सेमिनार तथा गोष्ठी पनि आयोजना गरिनेछ। घर निर्माणमा रुचि राख्ने सर्वसाधारणदेखि आर्किटेक्ट, इन्जिनियर र इन्टेरियर डिजाइनरसम्मको सहभागिता रहने यस प्रदर्शनीले नेपालको काठ, फर्निचर तथा इन्टेरियर उद्योगको विकास र आधुनिकीकरणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।

