काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त हुन भैरहवा आउन काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए तर मौसम खराबीका कारण उडान र अवतरण रोकिएकाले उनी काठमाडौंमै रोकिएका छन्।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलले थुनामुक्त गर्ने आदेश जारी गरेका थिए।
तर आदेश ढिला प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गर्न समय लाग्ने भएपछि लामिछाने आजै रुपन्देही आउन तयारीमा थिए। उनलाई काठमाडौंस्थित नख्खु कारागारबाट विमानमार्फत भैरहवा ल्याएर जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराउने योजना रहेको थियो।
उडान रोकिनुको कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेको हो। विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार मौसम सुधार भएपनि विमानस्थल खुल्न केही समय लाग्न सक्छ।
यससँगै लामिछानेलाई तत्काल रुपन्देहीमा उपस्थित गराउनुपर्ने थुनामुक्त प्रक्रिया अस्थायी रूपमा रोकिएको छ।

