काठमाडौं । जेन–जीका प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताउँदै सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनको घोषणा गरेको छ।
काठमाडौंको डिल्लीबजारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त समूहले आफ्ना एजेण्डासहित भोलिदेखि सडक आन्दोलन सुरु गर्ने जनाएको हो।
सम्मेलनमा बोल्दै अभियन्ता ढुंगानाले वर्तमान सरकारको औचित्य र वैधानिकता समाप्त भइसकेको आरोप लगाए।
प्रधानमन्त्रीले केवल पद ओगट्ने काम मात्र गरेको र उनीबाट निर्वाचन निष्पक्ष हुने विश्वास नभएको भन्दै उनले देशलाई अन्योलमा राख्नुभन्दा सर्वपक्षीय सरकार गठन गरेर निकास दिनुपर्नेमा जोड दिए।
उनले सरकार औचित्यहीन भएको दाबी गर्दै देशलाई समृद्ध र सुशासित बनाउन तत्काल विकल्प खोजिनुपर्ने बताए।
समूहले ‘संयुक्त जेन–जी एजेण्डा’ मार्फत विभिन्न मागहरू अघि सारेको छ। जसमा गोलमेज सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी सर्वसहमतिमा संविधान सुधार गर्नुपर्ने, राज्य पुनर्संरचना र राजनीतिक स्थिरता कायम हुनुपर्ने विषय समेटिएका छन्।

