काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पक्षबाट ४० जनाको नाम समावेश हुने भएको छ। पार्टी सभापति रवि लामिछाने र बालेन शाहबीच आइतबार बिहान यस विषयमा सहमति भएको स्रोतले जनाएको छ।
निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नामावली बुझाउने कार्यतालिका छ। समानुपातिकतर्फ रास्वपाले कुल ११० जनाको नाम बुझाउनुपर्ने हुन्छ। सहमतिअनुसार तीमध्ये ४० जना बालेन शाह पक्षका र बाँकी ७० जना रास्वपाका उम्मेदवार रहनेछन्।
यद्यपि रास्वपा र बालेनबीच भएको ७ बुँदे लिखित सम्झौतापत्रमा समानुपातिक हिस्सेदारीको विषय स्पष्ट रूपमा उल्लेख गरिएको छैन। तर यसबारे दुवै पक्षबीच मौखिक समझदारी भएको बताइएको छ।
स्रोतका अनुसार बालेन शाहको समानुपातिक सूचीमा विभिन्न जेन–जेड (Gen Z) समूहका अगुवा तथा फरक पृष्ठभूमिका व्यक्तित्वहरू पनि समावेश हुनेछन्। सहमतिले वैकल्पिक राजनीतिक शक्तिको प्रयासलाई थप गति दिने अपेक्षा गरिएको छ।

