काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा ख्याती कमाएकाहरुलाई समेटेर समानुपाति सूची तयार गरेको छ।
रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गएराति निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीको ११० जनामा कलाकार, खेलाडी, हिमाल आरोही, व्यापारी तथा गायकसम्म परेका छन् ।
पार्टीले सार्वजनिक गरेको सूचीअनुसार प्रतिष्ठित औद्योगिक घरानाको प्रतिनिधित्व गर्दै गोल्डस्टार सुज (किरण सुज) की कार्यकारी निर्देशक विदुषी राणा र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाललाई समानुपातिक सांसदका लागि प्राथमिकताका आधारमा सूचीमा राखिएको छ।
यसैगरी, अन्तर्राष्ट्रिय रूपमा परिचित हिमाल आरोहीहरू मिङ्मा ग्याबु शेर्पा र टासी लाक्सा शेर्पाको नाम पनि समानुपातिक बन्द सूचीमा समावेश गरिएको छ। उनीहरू नेपालका हिमाली पर्यटन र साहसिक खेलकुद क्षेत्रका अग्रणी व्यक्तित्व मानिन्छन्।
रास्वपाले विभिन्न पेशा र क्षेत्रबाट दक्ष तथा स्थापित व्यक्तिहरूलाई राजनीतिमा भित्र्याउने रणनीति अनुसार उद्योग–व्यवसाय क्षेत्रका यी दुई चर्चित नामलाई समावेश गरेको जनाएको छ।
यस्तै, उक्त सूचीमा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ पनि परेकी छन्। उनलाई आदिवासी जनजाती महिला क्लस्टरमा राखिएको छ।
सन् २०१९ मा मिस नेपाल बनेकी अनुष्का व्यवसायीसमेत हुन्।उनीसँगै चर्चित गायक प्रकाश सपुत, क्रिकेटर ज्ञानेन्द्र मल्ल, नायिका रिमा विश्वकर्मासम्मलाई समेटिएको छ।





