काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व मेयर तथा निवर्तमान सांसद वासुदेव घिमिरेले एमाले छोडेको घोषणा गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल मार्फत उनले एमाले परित्याय गरेको घोषणा गरेका हुन् ।
उनी काठमाडौं गएर बालेन साहसँग भेटेको फोटा मंगलबार सार्वजनिक भएको थियो । उनलाई रूपन्देही २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनाउने गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गराइएको नेताहरूको दावी छ ।
रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने गरी प्रस्ताव आएको र त्यसमा सकारात्मक रहेको घिमिरेले जनाएका छन् ।
‘अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो। देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु । आजसम्म यहाँ आईपुग्दा अवसर र जिम्मेवारी दिनुहुने सवै प्रति हार्दिक आभार व्यक्त गर्दछु । सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई सम्वृद्वीको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव यहाँहरु सवैसंग संगसंगै रहने छु ।’

