काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा आइतबार औपचारिक रूपमा सुरु भएको छ। पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन तथा विरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।
कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा महामन्त्रीद्वय थापा र शर्मासँगै सहायक महामन्त्री फरमूल्लाह मंसुर सहभागी भएका थिए।
उद्घाटन समारोहमा कांग्रेसका नेताहरू चन्द्र भण्डारी, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, महेश आचार्य, ओमकारप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। साथै विभिन्न जिल्लाका सभापतिहरू पनि विशेष महाधिवेशनमा सहभागी भएका छन्।
तर विशेष महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षका शीर्ष नेताहरू सहभागी भएका छैनन्।

