काठमाडौँ । अब निर्वाचन आचारसंहिताको अनुगमन ७७ वटै जिल्लाबाट हुने भएको छ ।
निर्वाचन आयोगले मंगलबार आचारसंहिता कार्यान्वयन र निगरानीलाई प्रभावकारी बनाउन भन्दै ७७ वटै जिल्लामा अनुगमन अधिकृतलाई नियुक्त गरेको हो । आयोगले सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) र प्रमुख कोष नियन्त्रकलाई अनुगमन अधिकृतको जिम्मेवारी तोकेको हो ।
गत माघ ९ गतेको निर्णयानुसार आयोगले मंगलबार परिपत्र जारी गर्दै उनीहरूलाई जिम्मेवारी प्रदान गरेको हो । नयाँ व्यवस्थाअनुसार अब नियुक्त अधिकृतहरूले निर्वाचन आचारसंहिता अनुगमनका क्रममा प्रत्यक्ष रूपमा ’निर्वाचन आयोग’ को छाप प्रयोग गर्ने अधिकार पाएका छन् ।
जिल्ला तहमै संयन्त्र निर्माण गर्दा आचारसंहिता उल्लंघनका घटनामाथि तत्काल कारबाही गर्न सहज हुने आयोगको विश्वास छ। ’जिल्ला स्तरबाटै सुक्ष्म अनुगमन हुँदा आचारसंहिता पालनामा थप कडाइ र प्रभावकारिता आउनेछ,’ आयोगका एक अधिकारीले भने।
पछिल्ला केही दिनयता आयोगले विभिन्न उम्मेदवारहरूलाई आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने क्रमलाई तीव्र पारेको छ। अब जिल्ला तहमै अनुगमन अधिकृतहरू सक्रिय हुने भएपछि स्पष्टीकरण र कारबाहीको दायरा अझ बढ्ने देखिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले यो विशेष कदम चालेको हो।

