काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पतालमा रहेको देखिने गरी सामाजिक सञ्जालमा फैलिएका तस्बिरहरू नक्कली भएको त्रिवि शिक्षण अस्पतालले स्पष्ट पारेको छ।
फेसबुकलगायत सामाजिक सञ्जालमा लामिछाने अस्पतालको शय्यामा बसेको जस्तो देखिने फोटोहरू भाइरल भएपछि अस्पतालले ती तस्बिर यस अस्पतालसँग सम्बन्धित नरहेको जनाएको हो। अस्पतालका प्रवक्ता गोपाल सेडाईंका अनुसार सामाजिक सञ्जालमा देखिएका तस्बिरहरू अस्पतालका होइनन् र ती एआई प्रयोग गरी बनाइएका हुन सक्ने आशंका गरिएको छ।
मंगलबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जानकारी दिएको छ।
अस्पतालका अनुसार माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा चोट लागेपछि औषधि सेवन गर्दा पनि सन्चो नभएकाले सेलुलाइटिस भएको र त्यसकै उपचारका लागि २०८२/१०/१३ गते हाडजोर्नी विभागअन्तर्गत भर्ना गरिएको हो। हाल उनलाई नशाबाट एन्टिबायोटिकमार्फत उपचार भइरहेको छ।

