काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा करिब ४६ करोड ५२ लाख रुपैयाँ बराबरको क्लिङ्कर हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई महाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले उद्योगका तत्कालीन महाप्रबन्धक तथा हाल नेपाल पूनर्विमा कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार पौडेल र नायव महाप्रबन्धक महेश प्रसाद काफ्लेविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ बिगो दाबी गर्दै आइतबार मुद्दा दायर गरेको हो।
त्यस्तै, तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साह, उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र बिक्री विभाग प्रमुख राम बहादुर जीसीविरुद्ध जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ।
उद्योगमा क्लिङ्करको खपत कागजी रूपमा बढी देखाइए पनि उत्पादन तथा मौज्दात कम रहेको पाइएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो। भौतिक परीक्षणका क्रममा कागजी रेकर्ड र वास्तविक भण्डारणबीच ठूलो अन्तर देखिएको अख्तियारको भनाइ छ। अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्म कुल ३८ हजार ७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको पुष्टि भएको छ।
अभियोगपत्रमा प्रतिवादीहरूले आपसी मिलेमतोमा सरकारी सम्पत्ति मास्ने बदनियत राखी कागजी मौज्दात बढी देखाउने तर वास्तविक रूपमा कम भण्डारण गर्ने गरेको उल्लेख छ। मन्त्रालयको छानबिन प्रतिवेदन अनुसार सामान्यतया क्लिङ्कर र चुनढुङ्गाको उत्पादन अनुपात ०.७२५ हुनुपर्नेमा उदयपुर सिमेन्टमा उक्त अनुपात ०.६४९ सम्म झरेको पाइएको छ।

