काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीखेल नयाँबस्तीमा आगलागी हुँदा २४ परिवार विस्थापित भएका छन्। मंगलबार राति करिब पौने ११ बजेतिर सुरु भएको आगलागी सवा १ बजेतिर नियन्त्रणमा आएको हो।
आगो लागेको स्थानबाट ७ जनाको सकुशल उद्धार गरिएको छ। काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो।
वडा अध्यक्ष टिकानारायण श्रेष्ठका अनुसार आगलागीबाट २४ कोठा बराबरको लामो टहरा पूर्ण रूपमा नष्ट भएको छ। “त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरू कोठा भाडामा लिएर बस्दै आउनु भएको थियो। जम्मा २४ परिवार विस्थापित हुनुभएको छ,” उनले बताए।
आगलागीबाट विस्थापित परिवारहरूलाई हाल नजिकैका अन्य टहरामा अस्थायी रूपमा राखिएको छ। आज उनीहरूका लागि खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको वडाले जनाएको छ।
प्रारम्भिक रूपमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने आइनसकेको र आज प्रहरीसहित मुचुल्का उठाई क्षतिको एकिन गरिने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए।

