काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन्। राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा उक्त जानकारी सार्वजनिक गरेकी हुन्। उनले चुनाव फागुन २१ गते नै सम्पन्न गराउने सरकारको दृढ निर्णय रहेको पनि दोहोर्याइन्।
चुनाव सर्ने हल्लाबारे राखिएको प्रश्नमा उनले भनिन्, “चुनाव सर्दैन, किन सार्नु र रु ३१–३२ अर्ब खर्च हुन्छ, यो बेलामा। सबै निर्वाचनमा त होइन। आवश्यक भौतिक साधनहरुको अभाव पूरा गर्दा मात्र यो खर्च भइरहेको हो। विभिन्न देशबाट सहयोग भइरहेको छ। यो सहयोग यो स्थिति नआएको भए अर्कोतिर जान्थ्यो।”
प्रधानमन्त्री कार्कीले भने, “निर्वाचन जसरी पनि हुनेछ र नयाँ जनप्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिनेछ।” हिमाली जिल्लाहरुमा चिसो र कठिन भौगोलिक परिस्थितिका कारण केही जटिलता आए पनि, सवारी साधन प्रयोग गर्न सकिने स्थानमा मानिसहरुलाई ओसारेर पनि निर्वाचन सम्पन्न गराउने उनको योजना छ। प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको दोहोर्याइन्।

