काठमाडौं । प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको १० दिने तालिम सम्पन्न भएको छ। २१ फागुनमा हुने निर्वाचनका लागि देशैभर सञ्चालन गरिएको तालिम मंगलबार सकिएको हो। तालिम सम्पन्न भएसँगै निर्वाचन प्रहरी फिल्डमा खटिने तयारीमा भए पनि आवश्यक बन्दोबस्ती सामग्री तयार नभएकाले परिचालनमा केही दिन ढिलाइ हुने भएको छ। लौरो, सिट्टी, पोशाक र जुत्ता लगायतका सामग्री अझै पूर्ण रूपमा उपलब्ध नभएकाले फिल्डमा पठाउन नसकिएको जनाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार पोशाक तयारीको प्रक्रिया अन्तिम चरणमा रहे पनि अझै केही दिन लाग्नेछ। “पोशाक तयार भइनसकेकाले तत्काल फिल्डमा खटाउन सकिएको छैन,” उनले बताए। देशभर सञ्चालन गरिएको निर्वाचन प्रहरीको तालिम भने सम्पन्न भइसकेको छ। आगामी निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा निकायसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुनेछन्।
निर्वाचनमा कुल ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालन हुने तथ्यांक सार्वजनिक गरिएको छ। जसअनुसार नेपाली सेनाबाट ७९ हजार ७२७, नेपाल प्रहरीबाट ७५ हजार ५९७ र प्रहरी मातहत रहने १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी खटिनेछन्। त्यस्तै सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ र सशस्त्र प्रहरी मातहत १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुनेछन्। साथै १ हजार ९२१ गुप्तचरसमेत निर्वाचन सुरक्षामा खटिनेछन्।

