२०८३, आश्विन २२ गते

images

दुधौलीका मेयर पक्राउ, जबरजस्ती करणीको आरोप

दुधौलीका मेयर पक्राउ, जबरजस्ती करणीको आरोप

सीएनएन खबर
बुधवार, फाल्गुण ६ २०८२११:१५
सीएनएन खबर
बुधवार, फाल्गुण ६ २०८२११:१५
  • images

    काठमाडौँ । जबरजस्ती करणीको गम्भीर आरोप लागेका सिन्धुलीको दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी पक्राउ परेका छन् ।

    सिन्धुलीको दुधौली नगरपालिकाका नगरप्रमुख अधिकारीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    गत वैशाख १७ वर्षीय बालिकाले  अधिकारीविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी परेपछि नगरप्रमुख अधिकारी फरार थिए । मंगलबार उनी स्वयं प्रहरी कार्यालयमा हाजिर हुन पुगेका हुन् ।

    जाहेरी अनुसार ती बालिका १७ वर्षको उमेरमै जबरजस्ती करणीको सिकार भएकी थिइन् । उनी गर्भवती भई २०८१ फागुनमा शिशु जन्माएकी छिन् । शिशु जन्मिएपछि मात्र घटना सार्वजनिक भएको परिवारजनले बताएका छन् ।

    पीडित बालिकाले दुधौली नगरपालिकाकै एक होटलमा काम गर्ने क्रममा नगरप्रमुखबाट आफूमाथि बलात्कार भएको उजुरीमा उल्लेख छ । आर्थिक र सामाजिक दबाबका कारण सुरुमा चुप बस्न बाध्य भएको परिवारको दाबी छ ।

    नगरप्रमुख पक्राउ परेपछि पीडित पक्षमा कानुनी प्रक्रियाले गति लिने विश्वास देखिएको छ । बालिकाका अभिभावकले ढिलो भए पनि कानुनले काम थालेको र अब न्याय मिल्छ कि भन्ने आशा जागेको बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

    नाबालिकामाथि जबरजस्ती करणीको आरोप प्रमाणित भएमा कडा सजायको व्यवस्था छ । मुलुकी अपराध संहिता, २०७४ ले १८ वर्षमुनिका बालिकामाथि करणीलाई गम्भीर अपराध मानेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend