काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने अन्तिम तयारीमा पुगेकी छन्। नयाँ प्रधानमन्त्री नियुक्त हुने मिति नजिकिँदै गर्दा उनले औपचारिक रूपमा कामकाज छाडिसकेकी छन्।
शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाह ले नियुक्ति लिएर सोही दिन शपथ ग्रहण गर्ने तयारी भइरहेका बेला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (सिंहदरबार) बाट जिम्मेवारी छाडेकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग सम्बद्ध एक उपसचिवका अनुसार कार्कीले कर्मचारीहरूलाई आफू अब कार्यालय नआउने जानकारी दिँदै अनौपचारिक रूपमा बिदा भएकी छन्। ‘कर्मचारीहरूले औपचारिक बिदाइ गर्ने प्रस्ताव गरेका थिए, तर उहाँले त्यसको आवश्यकता नरहेको भन्दै सहज रूपमा बिदा हुनुभएको हो,’ ती अधिकारीले बताए।
यससँगै उनी सिंहदरबारस्थित कार्यालयमा फर्किएकी छैनन्। कार्यालयमा रहेका उनका व्यक्तिगत सामान समेत सचिवालयमार्फत हटाइसकिएको छ।
बालुवाटारबाट पनि सबै सामान सारियो
प्रधानमन्त्री निवास बालुवाटार बाट समेत कार्की परिवारले आफ्नो सामान सारिसकेको छ। सामान अहिले टोखास्थित निजी निवास मा लगिएको छ।
केही दिनदेखि टोखास्थित निवासमा सुरक्षाको व्यवस्था मिलाउने तयारी भइरहेको छ। पूर्वप्रधानमन्त्रीको हैसियतले उनलाई आवश्यक सुरक्षा प्रदान गर्न सुरक्षाकर्मीको टोली खटाउने प्रक्रिया अघि बढाइएको छ।
प्रधानमन्त्रीको सचिवालयका एक कर्मचारीका अनुसार, ‘उहाँहरूको सबै सामान निजी निवासमा सारिएको छ। अब नयाँ प्रधानमन्त्रीको शपथपछि उहाँहरू सिधै टोखा सर्ने तयारीमा हुनुहुन्छ।’

