२०८३, भाद्र ४ गते

images
  • कर्पोरेट
  • जापानसँग पर्यटन सम्बन्ध सुदृढ गर्दै नेपाल,टोकियो...

जापानसँग पर्यटन सम्बन्ध सुदृढ गर्दै नेपाल,टोकियो र ओसाकामा सफल प्रवर्द्धन तथा ब्यापार आदानप्रदान कार्यक्रम सम्पन्न

जापानसँग पर्यटन सम्बन्ध सुदृढ गर्दै नेपाल,टोकियो र ओसाकामा सफल प्रवर्द्धन तथा ब्यापार आदानप्रदान कार्यक्रम सम्पन्न

images
सोमवार, चैत्र २३ २०८२०२:५५
सोमवार, चैत्र २३ २०८२०२:५५
  • काठमाडौँ । नेपालले जापानको पर्यटन बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै टोकियो र ओसाकामा दुई चरणमा सम्पन्न “नेपाल पर्यटन प्रवर्द्धन तथा ब्यापार (बीटूबी) आदानप्रदान कार्यक्रम २०२६” सफलतापूर्वक सम्पन्न गरेको छ।

    पहिलो कार्यक्रम ०२ अप्रिल २०२६ मा टोकियोस्थित रिह्गा रोयल होटलमा आयोजना गरिएको थियो भने दोस्रो कार्यक्रम ०५ अप्रिल २०२६ मा ओसाकास्थित रिह्गा रोयल होटलमा सम्पन्न भएको थियो।

    पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्ड द्वारा संयुक्त रूपमा, नेपाल वायुसेवा निगम, पाटा जापान च्याप्टर तथा पाटा चाइनिज ताइपेई च्याप्टरको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमले द्विपक्षीय पर्यटन सहकार्य सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। साथै, यो पहल नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरसँग पनि संयोग परेको छ।

    टोकियो कार्यक्रममा करिब ९० जना सहभागीहरू  र ओसाका कार्यक्रममा ६० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसमा नेपालबाट १२ अग्रणी पर्यटन तथा आतिथ्य क्षेत्रका कम्पनीहरूको प्रतिनिधित्व गर्ने २३ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो। दुवै कार्यक्रममा नेपालले साहसिक पर्यटन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्यात्मिक अनुभव तथा विलासितापूर्ण सेवासहित विविध पर्यटन उत्पादनहरू प्रस्तुत गरेको थियो।

    कार्यक्रमको एक महत्वपूर्ण आकर्षण जापानको ट्राभल ट्रेड क्षेत्रबाट देखिएको उल्लेखनीय सहभागिता रह्यो। जेटीबी (JTB) तथा जापान एसोसिएसन अफ ट्राभल एजेन्ट्स (JATA) लगायत प्रमुख ट्राभल कम्पनी, टुर अपरेटर तथा पर्यटन व्यवसायीहरूको सक्रिय सहभागिताले जापानी पर्यटकका लागि नेपालप्रति बढ्दो आकर्षण झल्काएको छ।

    औपचारिक सत्रको प्रारम्भ नेपाल र जापानका राष्ट्रिय गानबाट गरिएको थियो, जसले दुई देशबीचको दीर्घकालीन मित्रता र आपसी सम्मानलाई उजागर गरेको थियो। कार्यक्रममा पाटा जापान च्याप्टर, पाटा चाइनिज ताइपेई च्याप्टर, पाटा नेपाल च्याप्टर तथा टोकियोस्थित नेपाली दूतावासका प्रतिनिधिहरूले मन्तव्य व्यक्त गरेका थिए।

    नेपाल पर्यटन बोर्डद्वारा प्रस्तुत ‘डेस्टिनेशन नेपाल’ प्रस्तुतीकरणले नेपाललाई प्रामाणिक तथा विविध अनुभव प्रदान गर्ने गन्तव्यका रूपमा स्थापित गरेको छ। साथै, आगामी छैटौं हिमालयन ट्राभल मार्ट (HTM २०२६) तथा नेपाल वायुसेवा निगमसम्बन्धी प्रस्तुतीकरणले हवाई सम्पर्क सञ्जाल विस्तार तथा पर्यटन–व्यापारका अवसरहरू वृद्धि हुने विषयमा प्रकाश पारेको थियो।नेपालको सांस्कृतिक झलक प्रस्तुत गर्ने कार्यक्रम तथा विभिन्न पर्यटन उत्पादनसम्बन्धी प्रस्तुतीकरणले सहभागीहरूलाई गन्तव्यबारे थप गहिरो जानकारी प्रदान गरेको थियो।

    टोकियो र ओसाका दुवै स्थानमा आयोजना गरिएको बीटूबी सत्रले नेपाली विक्रेता तथा जापान र चाइनिज ताइपेईका क्रेता बीच प्रत्यक्ष संवादको सशक्त प्लेटफर्म प्रदान गरेको थियो। यी सत्रहरूले व्यापारिक छलफललाई प्रभावकारी बनाउँदै साझेदारी सुदृढ गर्ने र नेपालमा पर्यटक आगमन वृद्धि गर्ने सम्भावनाहरू सिर्जना गरेको छ।

    यस अवसरमा पाटा नेपालका महासचिव तथा नेपाल पर्यटन बोर्ड कार्यसमिति सदस्य श्री नरेन्द्र भट्टले जापान नेपालका लागि महत्वपूर्ण स्रोत बजार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विश्वास निर्माण, साझेदारी विस्तार तथा व्यावसायिक सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले जापानी पर्यटन व्यवसायीहरूको सक्रिय सहभागिताबाट उत्साहित भएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे।

    पाटा जापान च्याप्टरका अध्यक्ष श्री टोनी इशिदाले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै यस्ता सहकार्यले पर्यटन सम्बन्ध अझ सुदृढ हुने बताए।

    त्यस्तै, पाटा चाइनिज ताइपेई च्याप्टरका अध्यक्ष श्री बेन लियाओले त्रिपक्षीय सहकार्यलाई स्वागत गर्दै यस कार्यक्रमलाई सकारात्मक सुरुवातका रूपमा व्याख्या गरे। उनले निकट भविष्यमा नेपाल र जापानका प्रतिनिधिहरूलाई ताइवान भ्रमणको निम्तो समेत दिएका छन्।

    दुवै कार्यक्रमको समापन नेटवर्किङ सत्रमार्फत गरिएको थियो, जसले व्यवसायिक सम्बन्ध विस्तार गर्नुका साथै जनस्तरको सम्बन्धलाई समेत मजबुत बनाएको छ।

    टोकियो र ओसाकामा सम्पन्न यी कार्यक्रमहरूको सफलताले जापानी बजारमा नेपालको बढ्दो आकर्षण पुष्टि गर्नुका साथै नेपाल–जापान पर्यटन उद्योगबीचको सहकार्य थप सुदृढ हुँदै गएको संकेत गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend