२०८३, मंसिर ८ गते

  • समाचार
  • भारतले दियो भैरहवा हुँदै नेपाल प्रवेश...

भारतले दियो भैरहवा हुँदै नेपाल प्रवेश गर्ने हवाई रुटको अनुमति

भारतले दियो भैरहवा हुँदै नेपाल प्रवेश गर्ने हवाई रुटको अनुमति

images
सोमवार, मंसिर ७ २०८३०४:२९
सोमवार, मंसिर ७ २०८३०४:२९
  • images

    काठमाडौँ । लामो समयदेखि नेपालको मागका रूपमा रहेको भैरहवा हुँदै नेपाल प्रवेश गर्ने हवाई रुट सञ्चालनका लागि भारतले अनुमति दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फ सञ्चालन गर्ने सहमति भएको हो ।

    यससँगै अब भारतको लखनउबाट भैरहवा हुँदै काठमाडौं प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानका लागि पनि बी३४५ हवाई रुट प्रयोग गर्न सकिने बाटो खुलेको छ । यसअघि उक्त रुट नेपालबाट भारततर्फ जाने विमानका लागि मात्रै उपलब्ध थियो ।

    प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा दुवै देशका नेताहरूले नागरिक उड्डयन क्षेत्रका विषयमा भइरहेको छलफललाई सकारात्मक रूपमा लिएको उल्लेख छ ।

    हवाई सम्पर्क विस्तार तथा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित काठमाडौं–भैरहवा–लखनउ बी३४५ रुटलाई द्विदिशात्मक अर्थात् दुवैतर्फ सञ्चालनयोग्य बनाउने सहमति भएको संयुक्त वक्तव्यमा जनाइएको छ ।

    नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको थियो । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको माग थियो ।

    हाल पश्चिमबाट नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय उडानले सिमरा हुँदै नेपाली आकाशमा प्रवेश गर्नुपर्ने अवस्था छ । यसले पश्चिम नेपालका विमानस्थलमा अवतरण गर्ने उडानलाई लामो दूरी तय गर्नुपर्ने बाध्यता सिर्जना गर्दै आएको छ ।

    भैरहवा विमानस्थलमा अवतरण गर्ने विमानले पनि पश्चिमबाट आउँदा पूर्वतर्फ घुमेर पुनः पश्चिम फर्किनुपर्ने भएकाले उडान दूरी, समय र इन्धन खर्च बढ्ने गरेको छ । नयाँ सहमतिले पश्चिमबाट नेपाल प्रवेश गर्ने उडानका लागि छोटो र सहज हवाई मार्ग उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

    यद्यपि, सहमति तत्कालै कार्यान्वयनमा आउने छैन । रुट सञ्चालनका लागि दुवै देशका प्राविधिक अधिकारीबीच थप परामर्श हुनेछ । संयुक्त वक्तव्यअनुसार प्राविधिक परामर्शमार्फत रुट सञ्चालनका आवश्यक प्रक्रिया, कार्यविधि तथा अन्य प्राविधिक पक्ष टुंगो लगाइनेछ ।

    यस सहमतिलाई नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन क्षमता बढाउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend