काठमाडौँ । सरकारले हवाई पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन तथा आधुनिकीकरणमार्फत भरपर्दो र प्रतिस्पर्धी हवाई सेवा विकास गर्ने नीति अघि सारेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार, निजी क्षेत्रको सहभागिता विस्तार तथा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गरिने बताए ।
सरकारले पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गर्ने जनाएको छ । साथै अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गरी यात्रुको प्रतीक्षा समय घटाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक आकर्षित गर्न कूटनीतिक पहल गरिने सरकारको योजना छ ।
सरकारले हवाई सेवा क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउँदै पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय आवागमन सहज बनाउने लक्ष्य लिएको जनाएको छ ।

