काठमाडौँ । सहकारी विभागले राष्ट्रिय सहकारी बैंकसँग आबद्ध सहकारी संघ–संस्थाहरूको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलगत आधारमा प्यानल खडा गरी प्रचार–प्रसार गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले बुधबार सूचना जारी गर्दै सहकारीको मूल्यमान्यता, सिद्धान्त र कानुनी व्यवस्थाविपरीत हुने गतिविधिले सहकारी क्षेत्रको सुशासन र सदस्यबीचको स्वस्थ प्रतिस्पर्धामा नकारात्मक असर पार्ने उल्लेख गरेको छ ।
विभागका अनुसार पछिल्लो समय विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत दलगत प्रभावका आधारमा चुनावी गतिविधि बढेको पाइएको छ । यस्तो प्रवृत्तिले सहकारी ऐन २०७४ को मर्म तथा सहकारी आन्दोलनको उद्देश्यलाई कमजोर बनाउने चेतावनी विभागले दिएको छ ।
सूचनामा सहकारीको निर्वाचनलाई निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन सबै सम्बद्ध पक्षलाई आग्रह गरिएको छ । साथै सहकारीमा स्वस्थ तथा प्रतिस्पर्धी वातावरण कायम गर्दै सुशासन प्रवर्द्धन गर्न सहयोग गर्न विभागले अपिल गरेको छ ।

