२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सडक, सुरुङ र रेलमार्गमा केन्द्रित बजेट...

सडक, सुरुङ र रेलमार्गमा केन्द्रित बजेट : कार्यान्वयन भयो भने देशको मुहार फेरिने दाबी

सडक, सुरुङ र रेलमार्गमा केन्द्रित बजेट : कार्यान्वयन भयो भने देशको मुहार फेरिने दाबी

शुक्रवार, जेठ १५ २०८३०६:३५
शुक्रवार, जेठ १५ २०८३०६:३५
  • images

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सडक, सुरुङमार्ग, पुल तथा रेल पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दै मुलुकको आर्थिक विकास र क्षेत्रीय कनेक्टिभिटीलाई नयाँ उचाइमा पुर्‍याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

    अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै आगामी वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्रे तथा २७५ वटा सडक पुल निर्माण गर्ने घोषणा गरे। सरकारले पूर्व–पश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ। यसअन्तर्गत कमला–कञ्चनपुर र नारायणगढ–बुटवल खण्डको निर्माण सम्पन्न गर्ने तथा अन्य विभिन्न खण्डमा स्तरोन्नतिको काम अघि बढाइने जनाइएको छ।

    सडक पूर्वाधार

    • आगामी आर्थिक वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्रे र 275 वटा सडक पुल निर्माण हुनेछ।
    • एक हजार अठ्ठाईस किलोमिटर लामो पूर्व-पश्‍चिम राजमार्गलाई चारलेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्रमा सम्पन्न गर्नेछौँ। यसै वर्ष कमला-कञ्‍चनपुर र नारायणगढ-बुटवल सडक खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काँकडभिट्टा-लौकही, कमला-बागमती, बुटवल-गोरूसिङ्गे र धानखोला-लमही खण्ड अन्तर्गत 80 किलोमिटर सडक स्तरोन्नति गर्नेछौँ। बागमती-पथलैया, नारायगढ-हेटौंडा र गोरुसिङ्गे-चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गर्नेछौँ। पकली-कञ्‍चनपुर, चन्द्रौटा-धानखोला र कोहलपुर-गड्डाचौकी सडक खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौँ। पूर्व-पश्‍चिम राजमार्गको लागि रू.37 अर्ब 46 करोड विनियोजन गरेको छु।
    • काठमाडौं तराई-मधेश द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौँ। द्रुत मार्गको लिङ्क रोड निर्माण सुरु गर्नेछौँ। यस मार्गको लागि रू.17 अर्ब 64 करोड विनियोजन गरेको छु।
    • हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेछौँ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौडा गर्ने कार्य सुरु गर्दै 8 वटा सडक पुल निर्माण सम्पन्न गर्नेछौँ। यस राजमार्गको लागि रू.4 अर्ब 65 करोड विनियोजन गरेको छु।
    • कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला-गमगढी सडकको स्तरोन्नतिको लागि रू. 1 अर्ब बजेट व्यवस्था गरेको छु।
    • पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्नेछौँ। यस अन्तर्गत 65 किलोमिटर सडक स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न रू.2 अर्ब 16 करोड विनियोजन गरेको छु।
    • मदन भण्डारी राजमार्ग अन्तर्गत २५ किलोमिटर सडक कालोपत्रे गर्न र पुल निर्माण गर्न रू. 1 अर्ब 46 करोड विनियोजन गरेको छु।
    • आगामी तीन वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुल, विशेष महत्वका पुल र स्थानीय सडक पुलका लागि रू.9 अर्ब 87 विनियोजन गरेको छु।
    • पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको चारलेन सडक निर्माण शीघ्र सम्पन्न हुनेछ। मुग्लिङ-आँबुखैरेनी खण्डको निर्माण कार्य सुरु गर्नेछौँ। नागढुङ्गा-मुग्लिङ खण्ड अन्तर्गत 40 किलोमिटर सडक स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्‍चालनमा ल्याउनेछौँ। यी सडक खण्डको लागि रू.6 अर्ब 55 करोड विनियोजन गरेको छु।
    • कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवम् ग्राभेल गर्नेछौँ। त्यस्तै, कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरीखण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौँ। यी तीनवटा कोरिडोरका लागि रू. 6 अर्ब 25 करोड विनियोजन गरेको छु।
    • गल्छी-स्याफ्रुबेशी-रसुवागढी सडक खण्डलाई स्तरोन्नति गर्न रु. 1 अर्ब 35 करोड विनियोजन गरेको छु।
    • सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्ड द्रुतमार्गका रुपमा निर्माण कार्य प्रारम्भ गर्नेछौँ। आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङ मार्ग सम्पन्न हुनेछ।
    • महाकाली कोरिडोरको दार्चुला-टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची, अरूण, तमोर, भेरी, सेती कोरिडोर र खुटिया-दिपायल सडकको स्तरोन्नति कार्यलाई तीब्रता दिइनेछ।
    • काठमाडौं चक्रपथ विस्तार अन्तर्गत कलंकी-बसुन्धरा खण्ड विस्तार कार्य सुरु गर्नेछौँ। बसुन्धरा-चाबहिल-कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौँ।
    • टोखा-छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछौँ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मुलसामदेखि जुम्लाको टोपला सुरुङमार्गको संभाव्यता अध्ययन गर्नेछौँ। खुर्कोट-चियाबारी, थानकोट-चित्लाङ, मझिमटार-शक्तिखोर र चिसापानी-बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौँ।   
    • प्रमुख सडक चोकमा ट्राफिक संकेत, चोक सुधार, सडक रेखाङ्कन, क्र्यास ब्यारियर र डिभाइडर जडान तथा मर्मतलाई निरन्तरता दिई सडक सुरक्षाका लागि रू. 2 अर्ब 46 करोड विनियोजन गरेको छु।
    • बर्दिबासदेखि काठमाडौं-तराई मधेश द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढाउनेछौँ। निर्माणाधीन बथनाहा-विराटनगर तथा जनकपुर-जयनगर-बर्दिबास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु।
    • आगामी वर्षदेखि काठमाडौं उपत्यका लगायतका प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गरी धुलोमुक्त एवम् खाल्टाखुल्टीमुक्त बनाउनेछौँ। सडकको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्‍चालन गर्न रू. 28 अर्ब 52 करोड विनियोजन गरेको छु।  
    • राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकुलित संरचना निर्माण गर्नेछौँ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न रू. 3 अर्ब 17 करोड विनियोजन गरेको छु।
    • महिलाहरुको सुरक्षित आवागमन सुनिश्‍चित गर्न सिसि क्यामेरासहितको आधुनिक ब्लु बस सेवा सञ्‍चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौँ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend