काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत धार्मिक, सांस्कृतिक तथा हिमाली पर्यटनलाई विशेष प्राथमिकतामा राख्दै नयाँ पर्यटकीय गन्तव्यको विकास र प्रवर्द्धन गर्ने रणनीति सार्वजनिक गरेको छ। पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले पूर्वाधार विकासदेखि अन्तर्राष्ट्रिय ब्रान्डिङसम्मका कार्यक्रम अघि सारेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै लुम्बिनी, कपिलवस्तु, तिलौराकोट, देवदह र रामग्रामलगायत बौद्ध सभ्यतासँग जोडिएका ऐतिहासिक स्थलहरूको बृहत् पूर्वाधार विकास गरिने घोषणा गरे। यसका लागि ‘बृहत् लुम्बिनी विकास कार्यक्रम’ अन्तर्गत ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले धार्मिक पर्यटन प्रवर्द्धनका लागि जनकपुरलाई अन्तर्राष्ट्रिय स्तरको ‘विवाह गन्तव्य’का रूपमा विकास गर्ने योजना पनि अघि सारेको छ। रामजानकी पथ तथा रामजानकी परिक्रमा सडक स्तरोन्नति गरी रामायण सर्किटलाई थप व्यवस्थित बनाइने बजेटमा उल्लेख छ।
यस्ता छन कार्यक्रम
- ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्रामको बृहत पूर्वाधार विकास गर्नेछौँ। बृहत लुम्बिनी विकास कार्यक्रमका लागि रू. 83 करोड विनियोजन गरेको छु।
- जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्रान्डिङ्ग गर्नेछौँ। रामजानकी पथ र रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि रकम छुट्याएको छु।
- पर्यटकीय दृष्टिले महत्त्वपूर्ण पहाडी क्षेत्रमा हिल स्टेसनको प्रवर्द्धन गर्न पूर्वाधार विकासमा जोड दिनेछौँ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौँ।
- मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका दुईसय वर्षभन्दा पुराना कम्तीमा पनि दुई दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरुको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौँ।
- कपिलवस्तुको तिलौराकोट, धनुषाको जनकपुरधाम र काठमाण्डौको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढाउनेछौँ।
- खप्तड-बडिमालिका-शुक्लाफाँटा, काँक्रेविहार-पञ्चकोशी-रारा, ठाकुरद्बार-स्वर्गद्बारी-रूरू क्षेत्र, देवघाट– मुक्तिनाथ-तिलिचो, कालिञ्चोक-जुगल-गोसाइकुण्ड, सखडा-धनुषाधाम-गढीमाई, हलेसी-चतरा- पाथिभरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्द्धन गर्नेछौँ।
- ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रुपमा विकास गर्नेछौँ। खप्तड- रामारोशन- बडिमालिका- बुढिनन्दा- रारा- स्वर्गद्धारी- मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी पर्या-पर्यटन पदमार्ग (डाँफे रूट) को विकास गर्नेछौँ।
- अपि हिमाल, दोर्दी हिमाल, सिकलेस-कहुपुचे-मनाङ, तीनजुरे-पाथिभरा ट्रेकिङ रुट विकास गर्नेछौँ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्यपहाडमा परीक्षणका रुपमा कास्की लिपेनी-थुम्सीकोट-भाचोक-लम्तरी (प्रिन्स चार्ल्स रुट हुँदै करापुसम्म) र ब्यास- छाब्दी बाराही-बन्दीपुर- छिम्केश्वरी-लाब्दी-देवघाट रुट निर्माण गर्नेछौँ।
- आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि कीर्तिपुरस्थित संग्राहलयको विस्तार गर्नेछौँ। दलित समुदायको परम्परागत मौलिक सीप, कला तथा पेशाको प्रवर्द्धन गर्न मधेश, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्नेछौँ।
- छ हजार मिटर भन्दा बढी उचाई भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौँ।

