२०८३, आश्विन २१ गते

images
  • समाचार
  • विदेश भागेकी टिकटकर तुल्सा अधिकारी अन्ततः...

विदेश भागेकी टिकटकर तुल्सा अधिकारी अन्ततः पक्राउ, नेपाल ल्याएर अनुसन्धान सुरु

विदेश भागेकी टिकटकर तुल्सा अधिकारी अन्ततः पक्राउ, नेपाल ल्याएर अनुसन्धान सुरु

आइतवार, जेठ १७ २०८३१०:०१
आइतवार, जेठ १७ २०८३१०:०१
  • images

    काठमाडौँ । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दाकी फरार अभियुक्त टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनलाई हाल ललितपुर प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत जारी गरिएको रेड नोटिसका आधारमा अधिकारीलाई थाइल्याण्डमा पक्राउ गरी नेपाल ल्याइएको हो। नेपाल ल्याइएपछि उनलाई कानुनी प्रक्रियाअनुसार हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ बराबरको ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। उनीमाथि सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियालाई ठगी गरेको आरोप छ। यस सम्बन्धमा गत साउनमै प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको थियो।

    प्रहरीले अनुसन्धानका क्रममा अधिकारीसँग सम्बन्धित बैंक खाताहरूको विवरण अध्ययन गर्दा ठूलो परिमाणमा आर्थिक कारोबार भएको फेला पारेको जनाएको छ। त्यसपछि ठगीसँगै सम्पत्ति शुद्धीकरणको कोणबाट समेत अनुसन्धान अघि बढाइएको थियो।

    उजुरी परेपछि अधिकारी सम्पर्कविहीन बनेकी थिइन्। अनुसन्धानका क्रममा उनी विदेश फरार भएको खुलेपछि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय समन्वयमा उनी थाइल्याण्डमा पक्राउ परेकी हुन्।

    प्रहरीले अधिकारीलाई अदालतमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ। मुद्दासँग सम्बन्धित अन्य व्यक्तिहरूको संलग्नता तथा आर्थिक कारोबारको प्रकृतिबारे पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend