काठमाडौं । नेपाली मौलिक खानाको संरक्षण, रैथाने स्वादको प्रवर्द्धन तथा नेपाली आतिथ्य संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ।
असोज २५ देखि २९ गतेसम्म पाँच दिन सञ्चालन हुने फेस्टिभलमा पक्कुसहित नेपाली मौलिक स्वादका विभिन्न परिकार प्रस्तुत गरिनेछन्। काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्ट बिजनेस ग्रुपका आउटलेटहरूमा फेस्टिभल आयोजना हुनेछ।
नेपाली समाजको सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिएको परम्परागत परिकार पक्कुलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पाहुनामाझ परिचित गराउने र यसको व्यावसायिक पहिचान विस्तार गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको ग्रुपका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।
उनका अनुसार साे अभियानलाई काठमाडौंमा मात्र सीमित नराखी लुम्बिनी प्रदेशमा समेत विस्तार गरिने भएको छ। भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा पनि प्रेसिडेन्टको पक्कु प्रस्तुत तथा प्रवर्द्धन गरिने जनाइएकाे छ ।
प्रेसिडेन्ट बिजनेस ग्रुपका अनुसार पक्कु फेस्टिभल केवल खानाको उत्सव नभई नेपाली मौलिक परिकारको पहिचान स्थापित गर्ने, परम्परागत पाककला संरक्षण गर्ने र नेपाली खानालाई पर्यटनसँग जोड्ने दीर्घकालीन अभियान हो।
नेपाली खानालाई पर्यटनसँग जोड्ने लक्ष्य
नेपालको पर्यटन प्रवर्द्धनमा प्राकृतिक सौन्दर्य, हिमाल र सांस्कृतिक सम्पदासँगै मौलिक खानाको पनि महत्वपूर्ण भूमिका रहेको समूहको भनाइ छ। नेपाली परिकारको व्यवस्थित पहिचान, प्रस्तुति र ब्रान्डिङ गर्न सके पर्यटन प्रवर्द्धनसँगै स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृङ्खला, उद्यमशीलता र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
समूहले पक्कुलाई एउटा परिकारमा मात्र सीमित नराखी नेपाली स्वाद, संस्कृति र आतिथ्यताको विशिष्ट पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। परम्परागत परिकारलाई आधुनिक बजारसँग जोड्दै गुणस्तर, स्वच्छता र व्यावसायिक मापदण्डअनुसार प्रवर्द्धन गर्न सके नेपाली खानाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान बनाउन सक्ने समूहको विश्वास छ।
व्यवसाय विस्तारसँगै रोजगारी सिर्जनामा जोड
होटल तथा रेस्टुरेन्ट व्यवसायमा दुई दशकदेखि सक्रिय प्रेसिडेन्ट बिजनेस ग्रुपले सेवा, गुणस्तर, स्वच्छता र आतिथ्यतालाई आफ्नो व्यावसायिक यात्राको मुख्य आधार बनाउँदै आएको जनाएको छ।
समूहका अनुसार हाल यसअन्तर्गतका विभिन्न व्यवसाय तथा आउटलेटमा ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। आगामी दिनमा रुपन्देहीको बुटवल र काठमाडौंको बुढानीलकण्ठमा समेत नयाँ आउटलेट सञ्चालन गर्ने तयारी समूहले गरेको छ।
नयाँ आउटलेट सञ्चालनसँगै गुणस्तरीय सेवा विस्तार, दक्ष जनशक्तिको विकास र थप रोजगारी सिर्जनामा योगदान पुग्ने अपेक्षा गरिएको छ।
समूहले मौलिक खानाको प्रवर्द्धनलाई स्थानीय उत्पादन, कृषक, पशुपालक, आपूर्तिकर्ता तथा आतिथ्य क्षेत्रमा कार्यरत जनशक्तिसँग जोडेर अघि बढाउने लक्ष्यसमेत राखेको छ।
पक्कुलाई दीर्घकालीन ब्रान्ड बनाउने योजना
प्रेसिडेन्ट बिजनेस ग्रुपले पक्कु फेस्टिभललाई निश्चित अवधिको कार्यक्रममात्र नभई दीर्घकालीन ब्रान्डिङ, बजार विस्तार र प्रवर्द्धन अभियानका रूपमा अघि बढाउने लक्ष्य लिएको छ।
समूहका अनुसार नेपालका विभिन्न भूगोलमा प्रचलित मौलिक तथा रैथाने परिकारको पहिचान, संरक्षण, व्यावसायिकीकरण र अन्तर्राष्ट्रिय बजारसम्म प्रवर्द्धन गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ।
‘स्थानीय स्वादलाई राष्ट्रिय पहिचान र राष्ट्रिय स्वादलाई विश्व बजारसम्म’ पुर्याउने दृष्टिकोणसहित सुरु गरिएको अभियानलाई निरन्तरता दिने समूहले जनाएको छ।
तेस्रो संस्करणसम्म आइपुग्दा ग्राहक, सञ्चारमाध्यम, साझेदार तथा नेपाली मौलिक खानाका पारखीबाट प्राप्त साथ र सुझावले अभियानलाई थप प्रभावकारी बनाउन प्रेरणा दिएको समूहले उल्लेख गरेको छ।
नेपाली खानाको प्रवर्द्धन कुनै एक व्यवसाय वा संस्थाको मात्र दायित्व नभई राष्ट्रिय पहिचान, सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावनासँग जोडिएको साझा जिम्मेवारी भएको समूहको भनाइ छ।

