२०८३, आश्विन २७ गते

images
  • राजनीति
  • खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, सार्वजनिक...

खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, सार्वजनिक कार्यक्रममा रोक

खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, सार्वजनिक कार्यक्रममा रोक

images
मंगलवार, आश्विन २७ २०८३०९:०६
मंगलवार, आश्विन २७ २०८३०९:०६
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खग्रेन्द्र सानुरसँग सम्बन्धित सार्वजनिक भएका समाचार तथा श्रव्य सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममार्फत सार्वजनिक भएका विषयमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता आरोप गम्भीर र संवेदनशील रहेको उल्लेख गरिएको छ।

    विज्ञप्तिमा विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढ रहेको पार्टीले आफ्ना कुनै पनि सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसक्ने स्पष्ट पारेको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि जनाएको छ।

    उक्त विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ। छानबिन प्रक्रियालाई प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न निष्कर्ष नआउन्जेल सम्बन्धित व्यक्तिलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको छ।

    त्यस्तै, सार्वजनिक भएका विषयको गम्भीरतालाई ध्यानमा राख्दै राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास पार्टीले व्यक्त गरेको छ। अनुसन्धान प्रक्रियामा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाइएको छ।

    ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले आन्तरिक छानबिन र राज्यको स्वतन्त्र अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा विधानबमोजिम थप कदम चाल्ने जनाएको छ।

    विज्ञप्तिमा कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिइने स्पष्ट पार्दै आम नागरिकलाई यस विषयमा आश्वस्त रहन आग्रह गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend