काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि नुवाकोट पुगेकी छन्।
मंगलबार नुवाकोट पुगेकी भण्डारीले विदुरस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा नेता, कार्यकर्ता तथा जनप्रतिनिधिसँग भेटघाट गरेकी हुन्।
जिल्ला पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा एमालेका जिल्ला नेतृत्व, जनप्रतिनिधि तथा ठूलो सङ्ख्यामा उपस्थित कार्यकर्ताले उनलाई स्वागत गरेका थिए। सो अवसरमा भण्डारी र पार्टीका नेता तथा कार्यकर्ताबीच समसामयिक राजनीतिक विषय र जिल्लाको स्थानीय वस्तुस्थितिबारे छलफल तथा विचार आदानप्रदान भएको थियो।
करिब ११ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी भण्डारी पछिल्लो समय पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा सक्रिय हुन थालेकी छन्। सक्रिय राजनीतिमा पुनरागमनपछि उनी पहिलोपटक पार्टी कार्यालय पुगेकी थिइन्।
नुवाकोटको भ्रमणलाई पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाट र समसामयिक विषयमा विचार आदानप्रदान गर्ने अवसरका रूपमा हेरिएको छ।


