काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले श्रेष्ठलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति कात्तिक २० गतेदेखि लागू भएको छ ।
यसअघि फाइनान्सका सीईओ सुनिल पन्तको कार्यकाल समाप्त भएपछि श्रेष्ठलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । सोही जिम्मेवारीमा रहेर काम गर्दै आएका श्रेष्ठलाई सञ्चालक समितिले अब पूर्णकालीन सीईओ नियुक्त गरेको हो ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २४ वर्षभन्दा बढी अनुभव हासिल गरेका श्रेष्ठ अनुभवी बैंकरका रूपमा परिचित छन् । उनले यसअघि नेपाल एसबिआई बैंकमा करिब ६ वर्ष काम गरेका थिए ।
श्रेष्ठले आइसीएफसी फाइनान्समै नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख सञ्चालन अधिकृत हुँदै कायममुकायम सीईओको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
त्यसैगरी, उनले नेपाल क्लियरिङ हाउस लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा रहेर पनि काम गरिसकेका छन् । संस्थागत सुशासन, सञ्चालन व्यवस्थापन, कर्जा जोखिम व्यवस्थापन तथा वित्तीय संस्थाको समग्र नेतृत्वमा उनको अनुभव रहेको छ ।
शैक्षिक रूपमा श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा भारतको दिल्ली विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेका छन् ।

