२०८३, कार्तिक २३ गते

  • समाचार
  • रविको आफ्नै नेता–कार्यकर्तालाई चेतावनी : ‘जनताले...

रविको आफ्नै नेता–कार्यकर्तालाई चेतावनी : ‘जनताले १८२ सिट दिए भन्दैमा मात्तिनु हुँदैन’

रविको आफ्नै नेता–कार्यकर्तालाई चेतावनी : ‘जनताले १८२ सिट दिए भन्दैमा मात्तिनु हुँदैन’

images
शुक्रवार, कार्तिक २० २०८३०३:५९
शुक्रवार, कार्तिक २० २०८३०३:५९
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त जनमतपछि पार्टीका नेता तथा कार्यकर्तामा अहंकार बढेको भन्दै सार्वजनिक रूपमै आत्मआलोचना गरेका छन् ।

    शुक्रबार गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले जनताले दिएको ठूलो जिम्मेवारीअनुसार पार्टीका नेता–कार्यकर्ताको व्यवहार र कार्यशैली परिवर्तन हुनुपर्ने बताएका हुन् ।

    उनले निर्वाचनमा १८२ सिट प्राप्त गरेपछि पार्टीका नेता–कार्यकर्ता जनताबाट टाढिन थालेको टिप्पणी गरे ।

    ‘जनताले हामीलाई पत्याए, तर हाम्रो भुइँमा खुट्टा छैन । हामी मात्तिएका छौँ, टुप्पिएका छौँ । माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ कि मान्छेलाई मान्छे गन्न छाडेका छौँ,’ उनले भने, ‘यसरी हुँदैन, कुनै हालतमा पनि भुइँ छाड्नु हुँदैन ।’

    लामिछानेले पार्टीको व्यवहार र गतिविधिबारे समाज, सञ्चारमाध्यम तथा विश्लेषकले गर्ने टिप्पणीलाई सहज रूपमा लिनुपर्ने बताए । आलोचना गर्नेहरूमाथि आक्रामक हुनु राजनीतिक चरित्र नभएको उनको भनाइ थियो ।

    ‘समाजले हामीलाई ऐना देखाएको छ । आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,’ उनले भने, ‘विश्लेषक, अन्य दल र सञ्चारमाध्यमलाई म दोष दिन चाहन्नँ । यो दोष म लिन चाहन्छु, तपाईंहरूले पनि लिनुपर्छ ।’

    उनले विगतमा रास्वपामा आबद्ध भएकै कारण आफ्ना नेता तथा कार्यकर्ताले राज्य प्रशासनबाट दुःख पाएको प्रसंगसमेत उठाए । तर, अहिले निर्वाचन जितेपछि त्यसको बदला लिन प्रशासन र प्रहरीलाई राजनीतिक दबाबमा राख्न नहुने उनले स्पष्ट पारे ।

    ‘हिजो हाम्रा साथीहरूलाई दुःख दिने काम भयो भन्दैमा आज म घण्टीको मान्छे हुँ भनेर प्रशासन र प्रहरीलाई दबाब दियौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन,’ लामिछानेले भने, ‘हामीले एउटा चुनाव मात्र जितेका हौँ, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ ।’

    उनले प्रधानमन्त्री वालेन्द्र शाहसहित पार्टीका नेतृत्व तहमा रहेका सबैलाई जनताले गरेको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्नुपर्ने सन्देशसमेत दिएका छन् ।

    राजनीतिक प्रशिक्षणमा जोड

    रास्वपाले छोटो समयमै ठूलो चुनावी सफलता हासिल गरे पनि पार्टीका नेता–कार्यकर्तालाई पर्याप्त राजनीतिक प्रशिक्षण दिन नसकिएको लामिछानेले स्वीकार गरे ।

    उनले पार्टीको तीव्र उदयलाई ‘सीधै आठ कक्षामा भर्ना भएको’ अवस्थासँग तुलना गर्दै छुटेका राजनीतिक पाठ नसिकी अघि बढ्न नसकिने बताए ।

    ‘जनताले रास्वपा अब्बल छ भनेर एकैपटक आठ कक्षामा भर्ना गरिदिए । तर, हामीले छुटाएका केही कक्षाहरू नपढीकन आठबाट नौ कक्षामा पुगिँदैन,’ उनले भने ।

    लामिछानेले रास्वपा एउटा निर्वाचन जितेर अर्को निर्वाचनको तयारीमा मात्र सीमित हुन नहुने बताउँदै पार्टीभित्र अनुशासन, राजनीतिक संस्कार र जिम्मेवारीबोध विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend