काठमाडौँ । काठमाडौँ महानगरले प्लास्टिकका फूल तथा मालामा प्रतिबन्ध लगाएको छ । महानगरले बिहीबार एक सूचना जारी गर्दै प्लास्टिक तथा प्लाष्टिकका पुष्प गुच्छा तथा मालामा प्रतिबन्ध लगाईएको जनाएको हो ।
‘महानगरको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लाष्टिक, प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण, ओसार प्रसार तथा प्रयोगमा पूर्ण रुपमा निषेध गरिएको हुनाले उक्त वस्तुहरुको उत्पादन, बिक्री वितरण, भण्डारण, ओसार पसार र प्रयोगमा प्रतिबन्ध लगाईएको हो’, महानगरले जारी गरेको सूचनामा भनिएको छ ।
महानगरले प्लाष्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।
महानगरको अनुगमन टोलीले उक्त वस्तु भेटेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारवाही हुने जनाएको छ ।


