२०८३, आश्विन १९ गते

images
  • समाचार
  • काठमाडौं महानगरले थाल्यो खानेपानीको गुणस्तर जाँच,...

काठमाडौं महानगरले थाल्यो खानेपानीको गुणस्तर जाँच, विद्यालयदेखि वडा कार्यालयसम्म नमूना संकलन

काठमाडौं महानगरले थाल्यो खानेपानीको गुणस्तर जाँच, विद्यालयदेखि वडा कार्यालयसम्म नमूना संकलन

मंगलवार, आश्विन १३ २०८३०३:३२
मंगलवार, आश्विन १३ २०८३०३:३२
  • images

    काठमाडौँ । महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पानीको परीक्षण गराउने भएको छ । सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउन लागिएको हो ।

    सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी, स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र वडा कार्यालयमा प्रशासनिक सेवा लिन आउनेलाई लक्षित गरी पानी पिउनयोग्य छ वा छैन भनी प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो ।

    कार्यक्रमका फोकल पर्सन राधिका कुइँकेलले कामपा, स्वास्थ्य विभागले जनप्रतिनिधि, वडासचिव विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, पानीका उत्पादक तथा वितरकसहितका व्यक्तिहरूलाई प्रयोगशाला परीक्षणका लागि नमूना सङ्कलन विधिका विषयमा अभिमुखीकरण थालेको छ ।
     
    “वडा नं १ बाट थालिएको अभिमुखीकरण सबै वडाका लक्षित व्यक्तिलाई दिइनेछ”, कुइँकेल भन्छन्, “तालिम दिइएका व्यक्तिले नमूना सङ्कलन गर्नुहुन्छ । सङ्कलित नमूनाको प्रयोगशालाबाट परीक्षण गराई प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर कायम गराउने कार्यक्रम चलाउने लक्ष्यसहित अभिमुखीकरण थालेका हौँ ।” 

    “हामीले विश्वास गरेको पानी कति सुरक्षित छ रु यो थाहा हुन जरुरी छ”, वडासचिव सर्वज्ञराज पौडेलले भने, “पानीको सुरक्षा र स्वच्छताका उपाय अवलम्बन गर्न पनि आधार चाहिएको छ । अहिलेको कार्यक्रमले त्यो आधार दिनेछ ।” 

    धारामा आउने, जार वा अन्य स्रोतबाट ल्याइने पानी हेर्दा राम्रो देखिँदैमा, सङ्लो हुँदैमा पिउनयोग्य छ भन्ने हुँदैन । पानीमा आँखाले नदेखिने जीवाणु तथा स्वास्थ्यलाई असर गर्ने रसायनिक पदार्थ हुनसक्ने भएकाले सुरक्षित खानेपानीका लागि नियमित परीक्षण, निगरानी तथा सुधारको व्यवस्था आवश्यक छ ।

    भौतिक, रासायनिक र जैविक गुणस्तरका आधारमा पानी सुरक्षित भए÷नभएको निर्धारण हुन्छ । सुरक्षित पानीका लागि पाँच प्रकारका भौतिक, १३ प्रकारका रासायनिक र एक प्रकारको जैविक परीक्षण गर्नुपर्ने पारामिटर तोकिएका छन् । 

    जोखिम तथा सान्दर्भिकताका आधारमा थप एक–एक भौतिक र जैविक तथा सात रासायनिक परीक्षण गर्नुपर्छ । रासायनिक गुणअन्तर्गत क्लोरिन अवशेषको परीक्षण दैनिक तथा अमोनिया, क्लोराइड, नाइट्रेट र क्याल्सियमको परीक्षण मासिक गर्नुपर्छ ।

    फलाम, म्याङ्गानिज, सल्फेट, आर्सेनिक, क्याडमियम, तामा, फ्लोराइड, साइनाइड, सिसा, क्रोमियम, जस्ता, पारा र एल्युमिनियमलगायत पारामिटरको परीक्षण वार्षिक रूपमा गर्नुपर्ने मापदण्डमा स्पष्ट उल्लेख छ । सुक्ष्म जैविकतर्फ इकोलाई र कुल कोलिफर्मको परीक्षण मासिक गर्नुपर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend