२०८३, आश्विन २१ गते

images

हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टिकट बिक्रीमा टीबीए प्रणाली खारेज

हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टिकट बिक्रीमा टीबीए प्रणाली खारेज

शनिवार, कार्तिक २४ २०८१०९:३४
शनिवार, कार्तिक २४ २०८१०९:३४
  • images

    काठमाडौं । वायु सेवा कम्पनीहरूले ट्राभल एजेन्सीहरूलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज हुने भएको छ ।
     
    त्रिभुवन विमानस्थल ट्याक्सी वे मर्मतका लागि दैनिक १० घण्टा बन्द रहेको बेलामा भइरहेको टिकटको मूल्यवृद्धि नियन्त्रण गर्ने उपायस्वरुप उड्डयन क्षेत्रको सरोकारवालाको बैठकले टीबीए खारेज गर्ने निर्णय गरेको हो ।
     
    नागरिक प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालक सहभागी बैठकले गरेको यो निर्णय अब सबै वायुसेवा कम्पनीहरूले पालना गर्नुपर्नेछ ।
     
    बैठकले हवाई भाडा नियन्त्रणसँग सम्बन्धित विभिन्न ५ निर्णय गरेको छ । जस अनुसार सबै वायुसेवा सञ्चालकले दुईपक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्नेगरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ ।
     
    ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित सङ्ख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रहेर मात्र सेवा शुल्क लिने व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने जनाइएको छ ।
     
    त्यस्तै सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्त बमोजिमको हवाई भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने निर्णय भएको पनि प्राधिकरणले जनाएको छ ।
     
    २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माण सुरु भएको छ । उडान समय कटौती भएपछि एयरलाइन्सहरूले महँगो हवाई भाडा लिएको गुनासो आइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend