काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान चलनचल्तीका सिक्का डिजाइन, टकमारी, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आaह्वान गरेको छ। मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार पूर्वयोग्यता प्राप्त सिक्का टकमारी कम्पनीहरूले मात्र प्रतिस्पर्धामा भाग लिन पाउनेछन्।
खरिद प्रक्रिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रअन्तर्गत ‘एकल चरण, दुई खाम’ विधिबाट सञ्चालन हुनेछ। सहभागी कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा राखेर एउटै बाहिरी खामभित्र बुझाउनुपर्नेछ।
बोलपत्र कागजात नोभेम्बर ३, २०२६ सम्म खरिद गर्न सकिनेछ। कागजातको फिर्ता नहुने दस्तुर २० हजार नेपाली रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो तोकिएको छ।
बोलपत्रपूर्व बैठक अक्टोबर १६ को मध्याह्न १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा आयोजना हुनेछ। सिलबन्दी प्रस्ताव नोभेम्बर ४ को मध्याह्न १२ बजेसम्म बुझाउनुपर्नेछ भने सोही दिन दिउँसो १ बजे खोलिनेछ।
कागजात खरिद, बोलपत्र बुझाउने वा खोल्ने अन्तिम दिन सार्वजनिक बिदा परे त्यसपछिको पहिलो कार्यदिवस लागू हुने सूचनामा उल्लेख छ।
बोलपत्रको मान्य अवधि प्रस्ताव खोलिएको मितिदेखि १२० दिन रहनेछ। सहभागीले न्यूनतम एक लाख ३२ हजार अमेरिकी डलर वा सूचनामा तोकिएको विनिमय दरअनुसार बराबरको रकम बोलपत्र जमानत राख्नुपर्नेछ। जमानत भने बोलपत्रको मान्य अवधिभन्दा थप ३० दिन पछिसम्म अर्थात् अप्रिल ३, २०२७ सम्म मान्य हुनुपर्नेछ।
कालोसूचीमा परेको कम्पनीका सञ्चालक वा लगानीकर्ताले नयाँ कम्पनी खोलेर वा सञ्चालन गरेर पनि यस प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था छ। राष्ट्र बैंकले कुनै वा सबै बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकार अथवा अस्वीकार गर्ने अधिकार सुरक्षित राखेको छ।

