काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) मा अध्यादेशमार्फत संशोधन गर्ने तयारी गरेको छ। सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत बाफियाका १४ वटा दफा संशोधन गर्न लागेको हो।
प्रस्तावित संशोधनले बैंक तथा वित्तीय संस्थाबाट हुने सम्बद्ध व्यक्ति (Related Parties) लाई कर्जा प्रवाहमा कडाइ गर्ने, परियोजना कर्जाको सुरक्षण व्यवस्था स्पष्ट पार्ने, कर्जा असुली प्रक्रियालाई सहज बनाउने तथा नेपाल राष्ट्र बैंकको नियामकीय अधिकार थप व्यवस्थित गर्ने लक्ष्य राखेको छ।
अध्यादेशको मस्यौदामा सम्बद्ध व्यक्तिको परिभाषा विस्तार गरिएको छ। बैंकका संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, पदाधिकारी, उनीहरूका परिवारका सदस्य तथा बैंकको व्यवस्थापन, कर्जा निर्णय वा सञ्चालनमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव राख्ने व्यक्ति तथा संस्थालाई यसअन्तर्गत समेट्न प्रस्ताव गरिएको छ।
त्यस्तै, कुनै व्यक्ति वा संस्थाको नाममा कर्जा प्रवाह गरेर त्यसको वास्तविक आर्थिक लाभ सम्बद्ध व्यक्तिले लिने अवस्थालाई समेत निषेध गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। कर्जाको औपचारिक ऋणीभन्दा त्यसको वास्तविक उपयोगकर्ता, आर्थिक लाभ लिने व्यक्ति र अन्तिम हिताधिकारीलाई आधार मानेर सम्बद्ध कर्जा पहिचान गर्नुपर्ने मस्यौदामा उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाले सम्बद्ध व्यक्तिको स्वामित्व, नियन्त्रण, वित्तीय स्वार्थ र सम्बद्ध ऋणी समूहको विवरण अद्यावधिक गरी नेपाल राष्ट्र बैंकलाई नियमित रूपमा उपलब्ध गराउनुपर्नेछ। यस्तो कर्जा प्रवाहमा स्वार्थको द्वन्द्व रोक्न आन्तरिक नियन्त्रण प्रणालीसमेत अनिवार्य गर्न प्रस्ताव गरिएको छ।
परियोजना कर्जाको सुरक्षण व्यवस्था स्पष्ट
मस्यौदामा पूर्वाधार तथा अन्य परियोजनामा प्रवाह हुने कर्जाको सुरक्षणसम्बन्धी व्यवस्था पनि थप स्पष्ट पारिएको छ। परियोजनाको अनुमानित नगद प्रवाह, आम्दानी, आयोजना विकास सम्झौता, विद्युत् खरिद सम्झौता, सहुलियत सम्झौता, बीमा दाबी तथा अन्य करारीय अधिकारलाई कर्जा सुरक्षण र असुलीको आधारका रूपमा स्वीकार गर्न सकिने व्यवस्था गरिएको छ।
यसका लागि परियोजनाको प्राविधिक, आर्थिक तथा वित्तीय सम्भाव्यता परीक्षण, नगद प्रवाहबाट कर्जा भुक्तानी गर्न सकिने आधार र आवश्यक कानुनी प्रक्रिया पूरा भएको हुनुपर्नेछ।
परियोजना कर्जा स्वीकृत गर्दा राष्ट्र बैंकको निर्देशन, बैंकको स्वीकृत कर्जा नीति र आवश्यक जोखिम मूल्याङ्कनअनुसार असल नियतले निर्णय गरेका सञ्चालक वा कर्मचारीलाई कर्जा असुल हुन नसकेको कारणले मात्र व्यक्तिगत रूपमा जिम्मेवार नठहरिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। तर बदनियत, मिलेमतो, स्वार्थको द्वन्द्व, झुट्टा विवरण वा गम्भीर लापरबाही भएको अवस्थामा भने यस्तो संरक्षण लागू हुने छैन।
कर्जा असुली र लिलामी प्रक्रिया सहज बनाउने प्रस्ताव
अध्यादेशले बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीका क्रममा लिलाम वा सकार गरेका सम्पत्तिको रजिस्ट्रेसन तथा दाखिल खारेज प्रक्रियालाई पनि सहज बनाउन खोजेको छ।
सार्वजनिक प्रतिस्पर्धात्मक लिलामबाट बिक्री भएको सम्पत्तिको कारोबार मूल्य निर्धारण गर्दा लिलाममा कायम भएको वास्तविक बिक्री मूल्यलाई आधार मान्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। बैंक आफैंले सकार गरेको सम्पत्तिको हकमा भने योग्य स्वतन्त्र मूल्याङ्कनकर्ताबाट गरिएको मूल्याङ्कनलाई आधार मानिनेछ।
त्यस्तै, लिलाम वा सकार गरिएको सम्पत्तिमा पुरानो धनीको व्यक्तिगत दायित्वका कारण मात्रै रजिस्ट्रेसन, दाखिल खारेज वा सेवा जडान रोक्न नपाइने व्यवस्था गरिएको छ। सम्बन्धित निकायले त्यस्तो बक्यौता पुरानै धनीबाट असुल गर्न सक्नेछ।
सम्पत्ति रजिस्ट्रेसनका लागि आवश्यक चारकिल्ला प्रमाणितलगायतका कागजात सम्बन्धित स्थानीय तहले निवेदन प्राप्त भएको सात कार्यदिनभित्र उपलब्ध गराउनुपर्ने प्रस्ताव पनि मस्यौदामा छ।
यसैगरी, कर्जा असुलीका क्रममा बैंकले सकार गर्नुपर्ने हदबन्दीभन्दा बढी जग्गा सम्बन्धित भूमि व्यवस्थासम्बन्धी कानुन र आवश्यक स्वीकृतिको अधीनमा रही अस्थायी रूपमा आफ्नो नाममा राख्न सक्ने व्यवस्था गरिएको छ।
जरिवाना हुँदैमा पदबाट अयोग्य नहुने
बाफियामा थप गर्न प्रस्ताव गरिएको नयाँ दफा १००क ले जरिवानालाई मात्रै आधार बनाएर बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कर्मचारीलाई पदगत रूपमा अयोग्य ठहर गर्न नपाइने व्यवस्था गरेको छ।
तर जरिवानाको आधार बनेको कार्यबाट प्रचलित कानुनअनुसार छुट्टै पदगत अयोग्यता सिर्जना हुने अवस्था भएमा भने त्यस्तो अयोग्यता कायम रहनेछ। यससम्बन्धी निर्णय गर्दा नेपाल राष्ट्र बैंकले कानुनी आधार, उल्लङ्घनको गम्भीरता र सम्बन्धित व्यक्तिको जिम्मेवारी परीक्षण गरी सुनुवाइको अवसर दिनुपर्नेछ।
विदेशी स्वामित्वका बैंकमा राष्ट्र बैंकको विशेष निगरानी
मस्यौदामा विदेशी बैंक वा वित्तीय संस्थाको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ५१ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व रहेको नेपालमा स्थापित बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणसम्बन्धी नयाँ व्यवस्था पनि प्रस्ताव गरिएको छ।
यस्ता संस्थाको हकमा विदेशी संस्थाको गृह मुलुकको नियामकसँग सुपरिवेक्षकीय सहकार्यको व्यवस्था भएको अवस्थामा नेपाल राष्ट्र बैंकले जोखिम व्यवस्थापन, समूहगत सुशासन, आन्तरिक नियन्त्रण, बाह्य सेवा प्रदायकको उपयोग तथा सूचना प्रविधिसम्बन्धी विषयमा विशेष निर्देशन जारी गर्न सक्नेछ।
तर विदेशी स्वामित्वका बैंकलाई नेपालमा लागू हुने न्यूनतम पूँजीकोष, तरलता, कर्जा वर्गीकरण तथा अन्य अनिवार्य नियामकीय मापदण्डबाट छुट दिन नपाइने व्यवस्था गरिएको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंकबाट भएका विवाद समाधानसम्बन्धी निर्णयमा चित्त नबुझेमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले निर्णयको लिखित जानकारी पाएको ३५ दिनभित्र अधिकारक्षेत्र भएको उच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
अध्यादेशको मस्यौदाले यसअघि स्वीकृत परियोजना कर्जा, सिर्जना भएका सुरक्षण हित तथा सम्पन्न भइसकेका लिलाम बिक्री र नियामकीय निर्णयलाई नयाँ व्यवस्थाका कारण मात्र बदर नहुने स्पष्ट पारेको छ। नयाँ व्यवस्था लागू भएपछि हुने कारोबार, कर्जा नवीकरण र सुरक्षण हितमा भने संशोधित कानुनी प्रावधान पालना गर्नुपर्नेछ।
सरकारको प्रस्तावित संशोधनले बैंकिङ क्षेत्रमा सम्बद्ध व्यक्तिमार्फत हुने कर्जा दुरुपयोग नियन्त्रण, परियोजना वित्तपोषणलाई प्रोत्साहन र कर्जा असुली प्रक्रियामा देखिएका कानुनी जटिलता कम गर्ने लक्ष्य राखेको देखिन्छ।

