२०८३, मंसिर ७ गते

  • अर्थतन्त्र
  • बाढी प्रभावित क्षेत्रको पुनरुत्थानमा नेपाल र...

बाढी प्रभावित क्षेत्रको पुनरुत्थानमा नेपाल र भारतका उद्योगीबीच सहकार्य, स्वास्थ्यदेखि उद्यम पुनःस्थापनासम्म सहयोग गरिने

बाढी प्रभावित क्षेत्रको पुनरुत्थानमा नेपाल र भारतका उद्योगीबीच सहकार्य, स्वास्थ्यदेखि उद्यम पुनःस्थापनासम्म सहयोग गरिने

images
सोमवार, मंसिर ७ २०८३१०:४३
सोमवार, मंसिर ७ २०८३१०:४३
  • images

    काठमाडौँ । नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना तथा स्थानीय अर्थतन्त्रको पुनरुत्थानका लागि नेपाल र भारतका निजी क्षेत्रले सहकार्य गर्ने भएका छन्।

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच बाढी प्रभावित समुदायको स्वास्थ्य, सरसफाइ, जीविकोपार्जन र स्थानीय आर्थिक गतिविधि पुनःसञ्चालनमा सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    आइतबार भारतको राजधानी नयाँ दिल्लीमा भएको समझदारीपत्रमा भारतीय उद्योग परिसंघका तर्फबाट सीआईआई इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष विक्रमजीत सिंह साहनी र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका हुन्।

    समझदारीअनुसार दुवै संस्थाले बाढी प्रभावित क्षेत्रमा तत्कालीन स्वास्थ्य तथा सरसफाइका आवश्यकता पूरा गर्नुका साथै प्रभावित परिवारको जीविकोपार्जन र स्थानीय आर्थिक गतिविधि पुनःस्थापना गर्न संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन्।

    कार्यक्रमको पहिलो चरणमा स्वास्थ्य सेवा र राहतलाई प्राथमिकता दिइनेछ। यसअन्तर्गत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण, सरसफाइ तथा स्वास्थ्य सामग्री वितरण र दुईवटा अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने योजना छ।

    स्वास्थ्य शिविरमार्फत सामान्य स्वास्थ्य परीक्षण, मातृ तथा बाल स्वास्थ्य सेवा तथा बाढीपछि फैलिन सक्ने पानीजन्य र अन्य सङ्क्रामक रोगको पहिचान तथा उपचारमा सहयोग गरिनेछ। साथै, प्रभावित परिवारलाई सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ र रोगको संक्रमण रोकथामका लागि आवश्यक सामग्री उपलब्ध गराइनेछ।

    पहिलो चरणको स्वास्थ्य तथा राहत कार्यक्रम सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। त्यसका लागि प्रभावित क्षेत्रको स्थलगत आवश्यकता मूल्याङ्कन, लाभग्राही पहिचान, कार्यक्रमस्थल निर्धारण तथा आवश्यक सरकारी स्वीकृति लिने प्रक्रिया अघि बढाइनेछ।

    कार्यक्रमको दोस्रो चरणमा भने बाढीबाट प्रभावित परिवारको आयआर्जन र जीविकोपार्जन पुनःस्थापनामा जोड दिइनेछ। कृषि, पशुपालन, साना व्यवसाय तथा स्थानीय सेवामूलक उद्यम पुनःसञ्चालनका लागि आवश्यक औजार, उपकरण, सीप विकास र व्यावसायिक तालिम उपलब्ध गराउने समझदारी भएको छ।

    त्यसैगरी, बाढीबाट प्रभावित सूक्ष्म, लघु तथा साना उद्यमको पुनरुत्थानका लागि प्राविधिक सहयोग, वित्तीय पहुँचसम्बन्धी जानकारी, बजार सम्पर्क विस्तार तथा नेपाली र भारतीय उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी प्रवर्द्धन गरिनेछ।

    प्रभावित जिल्लाको स्थानीय आर्थिक पुनरुत्थान तथा विकास योजना निर्माणमा समेत दुवै संस्थाले सहकार्य गर्नेछन्।

    समझदारी कार्यान्वयनका क्रममा भारतीय उद्योग परिसंघले भारतीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय, आवश्यक स्रोत परिचालन र कार्यान्वयन साझेदार पहिचान गर्नेछ। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार तथा स्थानीय निकायसँग समन्वय, आवश्यक स्वीकृति र सहजीकरणका साथै स्थानीय उद्योगी व्यवसायीको सहभागिता तथा कार्यक्रम व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछ।

    कार्यक्रमका लागि बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित जिल्लालाई प्राथमिकतामा राखिएको छ। आवश्यकता र सम्भाव्यताका आधारमा गोरखा, बागलुङ तथा दोस्रो चरणको बाढीबाट प्रभावित मुस्ताङ र मनाङलगायत क्षेत्रमा समेत कार्यक्रम विस्तार गर्न सकिने समझदारीपत्रमा उल्लेख छ।

    यद्यपि, कार्यक्रम सञ्चालन हुने अन्तिम क्षेत्र भने स्थलगत अध्ययन तथा नेपाल सरकार र स्थानीय निकायसँगको समन्वयपछि निर्धारण गरिनेछ।

    एक वर्षका लागि लागू हुने समझदारीपत्रमा दुवै पक्षको आपसी सहमतिमा विशेष कार्यक्रम, स्रोत परिचालन तथा वित्तीय व्यवस्थासम्बन्धी थप सहमति गर्न सकिने व्यवस्था गरिएको छ।

    यस सहकार्यले बाढी प्रभावित समुदायलाई तत्कालीन राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा रोजगारी, आयआर्जन, उद्यमशीलता र स्थानीय अर्थतन्त्रको पुनरुत्थानमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend