२०८३, मंसिर ७ गते

बैंकिङ प्रणालीमा अधिक तरलता, थप २ खर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, थप २ खर्ब खिच्दै राष्ट्र बैंक

images
मंगलवार, मंसिर १ २०८३१२:४३
मंगलवार, मंसिर १ २०८३१२:४३
  • images

    काठमाडौँ । बैंकिङ प्रणालीमा बढ्दै गएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि ठूलो रकम खिच्ने भएको छ। केन्द्रीय बैंकले आज मंसिर १ गते निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट एकैपटक २०० अर्ब रुपैयाँ तान्न लागेको हो।

    बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्दै आएको छ। सोही क्रममा केन्द्रीय बैंकले ९२ दिनका लागि २०० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो।

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले ब्याजदरसमेत प्रस्ताव गर्न सक्नेछन्। यस उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

    निक्षेप संकलनका लागि आज अपराह्न २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ।

    निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ। अधिकतम भने आह्वान गरिएको कुल रकम अर्थात् २०० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिनेछ।

    राष्ट्र बैंकले यसरी संकलन गर्ने निक्षेपको साँवा तथा ब्याज आगामी फागुन ५ गते भुक्तानी गर्ने जनाएको छ।

    बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा खिच्दै आएको छ। यसले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई सहयोग पुग्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend