काठमाडौँ । गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको पहिरोले घर पुर्दा परिवारका चारजना गुमाएका ललितपुरको महांकाल गाउँपालिका वडा नम्बर २ का स्थानीय डुकुमान स्याङतानलाई नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले कुटेर गम्भीर घाइते बनाएको बताएका छन्।
तीनदिनदेखि ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उनी उपचाररत छन्।
उनले कुट्ने सोही वडाका स्थानीय सोमबहादुर स्याङतानका छोरा संगम स्याङतान हुन् । गाउँपालिकामा रहेका कांग्रेसकै नेताका छोरा/भतिज भनेर आफन्तलाई बताएका छन्।
मरणासन्न हुनेगरी कुटेपछि आफूलाई केही थाहा नभएको उनको भनाई छ। मुखमा गम्भीर चोट लागेको छ, शरिरका विभिन्न भागमा दुखेको उनले बताए। अस्पतालका अनुसार उनको अवस्था खतरामुक्त छ। तर, अस्पतालमा उनलाई ल्याउने व्यक्तिहरुले लडेर घाइते भएको बताएका छन्।
‘उहाँलाई कुटेर घाइते बनाएछन्। अनि लडेको भनेर उपचार भइरहेको रहेछ। उहाँ लडेको होइन, कांग्रेसका कार्यकर्ताले कुटेका हुन्,’ एक आफन्तले भने।
अस्पतालमा तीनदिनदेखि कांग्रेसकै कार्यकर्ता छन्। ‘रक्सी खाएर आँफै लड्दा उहाँ घाइते हुनुभएको रहेछ, हाम्रो साथीहरुले देखेर यता अस्पताल ल्याउनुभएछ,’ अस्पतालमा भर्नागरेपछि कांग्रेसका कार्यकर्ताले सबैलाई भनेको एक नर्सले बताईन।
डुकुमानको एक आफन्तका अनुसार महांकाल पालिकाका कांग्रेस नेताकै आफन्तबाट कुटपिट भएको हो।
१२ गते चारजनाको परिवार गुमेपछि डुकुमान मानसिक रुपमा विछिप्त छन्। तर, आफूलाई कुटेको उनले आफन्तसँग बताएका छन्।
‘बसिरहेको ठाउँमा आएर एक्कासी दुई मुक्का हान्यो, अनि म भुँइमा ढले,’ डुकुमानले आफन्तलाई भने, ‘मैले केही नबोलेपनि मलाई कुट्यो।’
अस्पतालमा उनको हेरचाहमा कांग्रेसकै स्थानीय खटिएका छन्। नयाँ र अपरिचित व्यक्तिलाई डुकुमान रहेको बेडमा जान दिइएको छैन। डुकुमानको घरमा कोही छैनन्। उनकी एक बहिनी मात्र छिन्। उनकी श्रीमती, छोरा र छोरीको असोज १२ गते घरमाथिबाट आएको पहिरोले पुर्दा मृत्यु भएकको थियो।
पाँच/सात वर्षअघि उनको बुबा आमाको निधन भइसकेको छ। सामान्य आर्थिक अवस्था भएका डुकुमान डेढवर्षअघि बैदेशिक रोजगारबाट फर्केका हुन्।
उनलाई कुट्ने व्यक्तिमाथि कडा कारवाही गर्न उजुरी लिएर प्रहरी वृत्त चापागाउँ पुग्दा उजुरी लिनै नमानेको आफन्तले गुनासो गरे।
‘उहाँलाई कुटेर घाइते भएपछि अस्पताल लगेको थाहा पाएर म पुगेको थिए, निकै कुटेको बताउनुभयो,’ एक आफन्तले भने, ‘त्यसपछि पुलिसकोमा रिपोर्ट हाल्छु भनेर चापागाउँ गए तर, उजुरी लिनै मान्नुभएन। ‘सामान्य नै रहेछ, गाह्रो अवस्थामा होइन रहेछ र ठूलो घटना पनि होइन रहेछ भनेर पुलिसले फर्काउनुभयो।’

