काठमाडौं । नेपालको क्रेडिट रेटिङ 'बीबी माइनस' आएको छ । पहिलोपटक गरिएको क्रेडिट रेटिङमा नेपालले 'बीबी माइनस' आएको हो ।
शुक्रबार अर्थ मन्त्रालयले औपचारिक रूपमा नेपालको सार्वभौम क्रेडिट रेटिङ सार्वजनिक गरेको हो । नेपालले पाएको रेटिङ सन्तोषजनक रहेको मन्त्रालयका प्रवक्ता महेश भट्टराईले बताए ।
'यसले आर्थिक विकासमा सुधारको संकेत गरेको छ । नेपालमा लगानी गर्न सुरक्षित छ, भन्नेकुरा सुनिश्चित गरेको छ,' उनले भने, 'नेपालको सार्वभौम क्रेडिट रेटिङ्गमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास (Confidence) अभिवृद्धि हुन गई भाबी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवालगायत क्षेत्रका ठूला आयोजनामा लगानी अभिवृद्धि हुने अपेक्षा गरिएको छ।'
नेपालमा लगानी गर्न सुरक्षित रहेको छ भन्नेकुरा रेटिङले प्रस्ट पारेको उपप्रधान एव् अर्थमन्त्री विष्णु पौडेलले बताए । अर्थमन्त्री पौडेलले भने, 'देशको अर्थतन्त्रको अवस्थाबारे प्रश्नहरू थिए । जुन अहिले केही उत्तरहरू आएका छन् । यो रेटिङको काम अन्तिम होइन । निरन्तर गर्नेछौं । यसले हाम्रो आत्मविश्वास बढाउँछ । यसले सरकारलाई सुधारका लागि उत्प्रेरित गरेको छ । आउने दिनमा वैदेशिक लगानीका लागि गर्नुपर्ने कामहरू गर्ने छौं । अहिलेको रेटिङले ढुक्क हुनुपर्ने अवस्था होइन । यसलाई झन् राम्रो गर्नुपर्छ ।'

