२०८३, आश्विन २१ गते

images

सुदूरपहाडका अधिकांश जिल्लामा हिमपात, जनजीवन प्रभावित

सुदूरपहाडका अधिकांश जिल्लामा हिमपात, जनजीवन प्रभावित

सोमवार, मंसिर २४ २०८१११:५९
सोमवार, मंसिर २४ २०८१११:५९
  • images
    काठमाडौँ । वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो ।
     
    उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
     
    हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
     
    वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो । 
    himpat.jpg
     
    यस्तै, बाजुरामा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ ।
     
    हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नंं ६ का स्थानीय जयप्रसाद पाण्डेले बताए ।
     
    यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा  सेताम्मे भएका छन् ।
     
    यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ । सदरमुकाम मार्तडी आसपासमा पनि हिमपात भएको बडीमालिका–३ का स्थानीय कमल रावलले बताए ।
     
    वर्षासँगै हिमपात भएपछि कृषक खुसी भएका छन् । गहुँ बालीमा पानी नपर्दा सुक्न थालेका बेला वर्षा आएपछि किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend