काठमाडौँ । सप्तरीका स्थानीय कृृषकले जनप्रतिनिधिको रोहबरमा साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीका कार्यालयमा तालाबन्दी गरेका छन् ।
रासायनिक मलमा अनियमितता भएको भन्दै जिल्लाका १८ वटै स्थानीय तहका प्रमुखको निर्देशनमा मंगलरबार दुई सरकारी निकायमा तालाबन्दी गरिएको हो ।
रासायनिक मल वितरणको जिम्मा पाएकै निकायबाट कालोबजारी, अनियमितता र लापरबाही भएको भन्दै उनीहरुले तालाबन्दी गरिएको जनाएका छन् ।
तथ्यांकअनुसार सप्तरीमा १ लाख १६ हजार बोरा मल आयात भएकोमा केवल ४३ हजार बोरा मात्र वितरण गरिएको पाइएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यान्द चौधरी बताउँछन् । उनका अनुसार अझै १३ हजार बोरा मल गोदाममा मौज्दात रहे पनि किसानहरूलाई उपलब्ध गराइएको छैन ।
‘बाँकी ६० हजार बोरा मलको अत्तोपत्तो छैन, जसले गम्भीर शंका उत्पन्न गराएको छ कि यी मलहरू कालोबजारीमा परेका छन्’, उनले भने, ‘हामीले यो तालाबन्दी किसानहरूको हक र अधिकारको संरक्षण गर्न, र मल वितरण प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न गरेका हौँ । सम्बन्धित निकायहरूले तुरुन्तै गोदाममा रहेको मलको विवरण सार्वजनिक गरी, बाँकी मल कहाँ गयो भन्ने स्पष्ट पार्नुपर्छ, र किसानहरूको आवश्यकता अनुसार निष्पक्ष वितरण प्रक्रिया सुरु गर्नुपर्छ ।
अध्यक्ष चौधरीले स्थानीय सरकारको दायित्व किसानहरूको मिहिनेत र परिश्रमको सम्मान गर्ने रहेको भन्दै किसानका लागि आएको मलखादको सही रुपमा सदुुपयोग हुनुपर्नेमा जोड दिए ।
‘बुधबार बिहान ८ बजे, हामी पुनः धर्नामा बसेका छौँ । जबसम्म राज्यले तुरुन्त कदम चाली किसानहरूलाई आवश्यक मल उपलब्ध गराउँदैन, हामी स्थानीय सरकारका प्रमुखहरू, प्रतिनिधिहरू र जनप्रतिनिधिहरू एकजुट भएर किसानहरूको पक्षमा संघर्ष जारी राख्नेछौं । यो हाम्रो अडान हो, र हामी यसमा दृढ छौं’, उनले भने ।
उनले संघीय सरकार र प्रदेशलाई किसानको समस्याप्रति गम्भीर भएर ध्यान दिन चेतावनी दिदैँ तुरुन्तै ठोस कदम नचालिए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

