२०८३, आश्विन २१ गते

images
  • समाचार
  • काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३०...

काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि

काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि

शुक्रवार, मंसिर २८ २०८१०६:१७
शुक्रवार, मंसिर २८ २०८१०६:१७
  • images

    काठमाडौं । कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो । 

    पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले जानकारी  दिए । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एअरले परीक्षण उडान गरिसकेका छन् ।

    विमानस्थलमा यही मङ्सिर ३० गते आइतबार पहिलो उडान हुनेछ भने दोस्रो उडान आगामी पुस ४ गते बिहीबार हुनेछ । त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार एक÷एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ । तालिकाअनुसार यति एयरलाइन्सले काठमाडौं–नेपालगञ्ज र नेपालगञ्जबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगञ्ज ल्याउने र त्यहाँबाट यति एयरलाइन्सले काठमाडौं ल्याउनेछ । यसका लागि एकमुष्ट काठमाडौं–टीकापुरको एक तर्फी भाडा रु नौ हजार निर्धारण गरिएको छ ।

    टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । साथै यात्रुहरुले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ । 

    विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुरका नगरप्रमुख थारुले स्थानीयको चाहनाबमोजिम विमानस्थल सञ्चालनमा ल्याउनका लागि सिद्धार्थ हस्पिटालिटीले सेवाप्रदायकसँग समन्वय गरी दिएकोमा धन्यवाद दिए । टीकापुर विमानस्थलमा अहिले चारैतिरबाट काँडेतारको छेकबार छ भने धावनमार्गमा ग्राभेल गरिएको छ । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमान कम्पनीले उडानको माग गर्ने र प्राधिकरणले भाडादर तोकेर जनशक्ति खटाउने बताए । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रुपमा विकास गर्न सकिने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend