२०८३, आश्विन २३ गते

images

सहकारी ठगी प्रकरणः रवि सहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

सहकारी ठगी प्रकरणः रवि सहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

मंगलवार, माघ २२ २०८१०२:१९
मंगलवार, माघ २२ २०८१०२:१९
  • images

    काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित १५ जना विरुद्ध चितवनमा पनि मुद्दा दर्ता भएको छ । 

    चितवनमा सञ्चालित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

    चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज (मंगलबार) दर्ता गरिएको हो ।

    सरकारी वकिल कार्यालयले लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।

    पूरक मुद्दामा लामिछाने, जोशी सहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइएको छ । 

    चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि ढाँचा र तथ्यतथ्यांक नमिलेको भन्दै पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न प्रतिवेदनको फाइल प्रहरीलाई फर्काएको थियो । त्यसको केही दिनपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । त्यसको अध्ययन सकेर आज (मंगलबार) सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

    रविसहितलाई ठगी तथा संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

    यसअघि रवि लामिछाने विभिन्न जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन् । चितवनपछि उनीविरुद्ध वीगगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend