काठमाडौँ । वडाअध्यक्षले वडा सचिवमाथि गरेको हातपातको विरोधमा देशभरका राष्ट्र सेवक कर्मचारीहरु उत्रिएका छन् ।
सोमबार दिउँसो तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नवीन भुसाल माथि हातपात गरेकाे भन्दै कर्मचारीहरु विराेधमा उत्रिएका हुन् । आक्रमणको विरोधमा कर्मचारीहरुले कालोपट्टि बाँधेर काम गरेका छन् ।
दाङको राप्ती गाउँपालिका, नवलपरासी बर्दटाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका,मादी गाउँपालिका कास्कीका कर्मचारीहरुले विज्ञप्ती जारी गर्दै विरोध गरेका हुन् । उनीहरुले प्रमुख प्रशासकीय अधिकृतलाई विज्ञप्ती बुझाउँदै कालो पट्टी बाधेर विरोध जनाएका हुन् ।
मिलापत्र गर्न दबाब
तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का सचिव नवीन भुसाललाई सोही वडाका अध्यक्ष बलबहादुर गुरुङले एउटा बिलको विषयमा घाँटी थिचेर अस्पताल नै भर्ना हुनेगरी कुटपिट गरेको घटनामा अहिले मिलापत्र गर्न एमालेका स्थानीय नेताहरूले दबाब दिइरहेका छन् ।
वडाध्यक्ष कप भलिबल प्रतियोगिताको बिल पास नगरेको भन्दै वडाध्यक्ष गुरुङले ज्यान मार्ने धम्की समेत दिएर कार्यालयको भित्तामा घाँटी थिचेर कुटपिट गरेका थिए । अहिले सो गाउँपालिका भित्रका सबै कर्मचारीले अत्यावश्यकबाहेकका सेवा ठप्प पार्ने बताएका छन्।
वडाध्यक्ष गुरुङ एमालेबाट निर्वाचित हुन् । पालिकाका कर्मचारीबाट दिइएको उजुरी र दबाबपछि आक्रमणमा उत्रिने वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
मुद्दा दर्ता भइसकेको छैन । तर प्रहरीले पनि यस्तो घटनामा मिलापत्र हुने सम्भावना कम रहेको जनाएको छ । ‘पीडितले के विषयमा जाहेरी दिनुहुन्छ, त्यहिअनुसार मुद्दा चलाउनुपर्ने हुन्छ’, प्रहरी अधिकारी भन्छन् ।
पक्राउ परेका वडाध्यक्षले सचिवमाथि आक्रमण गरेको स्वीकार गर्दै भनेका छन्, ‘मुखले नमानेपछि हातले हानें, ३ झापड हानेकै हो ।’
एमालेका स्थानीय नेताहरूले अब विवादलाई अझ गहिरो बनाउनुभन्दा मिलापत्र गर्नु राम्रो भन्दै दबाब दिएका छन् भने गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले यस विषयमा फितलो प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्,‘वडाध्यक्ष त सोझा मानिस् हुन्, त्यसरी चार चार थप्पड हानेका हुन् र?’
वडाध्यक्ष, पालिका अध्यक्षदेखि नेताहरुले भने मिलापत्र गर्न दबाब दिइरहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले पनि कर्मचारीमाथि आक्रमण नै हुनु दुखुद् भएको र स्वयंले पनि सार्वजनिक रुपमै स्वीकारेकाले पनि प्रहरीलाई मुद्दा अगाडि बढाउन समस्या नहुने प्रतिक्रिया दिएका छन् ।
गत असोज १३ गतेमात्र सहायक पाँचौंस्तरको नियुक्तिपत्र बुझेर १८ गते बन्दीपुर वडा नम्बर ६ मा पोस्टिङ भएका थिए भुसाल।

