काठमाडौँ । संसद्को दुबै सदनमा वडाअध्यक्षले वडा सचिवमाथि हातपात गरेको विषय उठेको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठक र प्रतिनिधि सभाको बैठकमा उक्त कुरा उठेको हो ।
तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नवीन भुसालको घाँटी अँठ्याउँदै चड्कन हानेको विषय प्रतिनिधिसभामा उठेको छ ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारीलाई वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै त्यो विषय उठाएका हुन् ।
वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै एमालेबाट निर्वाचित वडाध्यक्ष गुरुङले वडा सचिव भुसाललाई कुटपिट गरेका थिए ।
वडाध्यक्ष गुरुङको कुटाइबाट घाँटी र गालामा निल डाम रहेको भुसाललाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको छ ।
यस्तै, राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुव्र्यवहारका घटना बढेकामा राष्ट्रियसभाका सांसदहरुले आपत्ति जनाएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कर्मचारीहरु जनप्रतिनिधिबाटै असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताएका हुन् ।
सांसद पदमबहादुर परियारले तनहुँको बन्दीपुर गाउँपालिका –६ का जनप्रतिनिधिले कर्मचारीलाई आक्रमण गरेकामा आपत्ति जनाउँदै छानबिनको माग गरे । यसैगरी अर्का सांसद मनरुपा शर्माले पनि सोही घटनाको विरोध गर्दै दोषीमाथि कारबाही हुनुपर्ने बताइन् ।
सांसद विष्णुदेवी पुडासैनीले काठमाडौंमा ढल निकास, खानेपानी, विद्युत्लगायत संरचना निर्माणमा अन्तरनिकाय समन्वय हुनुपर्नेमा जोड दिइन ।

