काठमाडौँ । थापाथली चोकनजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भीक इन्टरनेसनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ ।
माइतिघरमण्डल क्षेत्रमा पाइप मर्मतका लागि पानी बन्द गरिएका कारण थापाथलीको पाइपलाइन फुटेको हो ।
“माइतिघरमण्डल क्षेत्रमा पाइप मर्मतका लागि पानी बन्द गरिएको थियो । त्यसपछि एकैपल्ट पानी छोड्दा थापाथलीमा पाइप फुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक टीका चौधरीले भने, “अहिले पानी रोकेका छौँ । यसको मर्मत तल्काल सुरू हुन्छ ।”
मंगलबार बिहान पाइप फुटेपछि थापाथली चोकबाट प्रसुती अस्पतालफर्त ठूलो बाढी बगेको थियो। अहिले भने त्यहाँ पानी बग्न रोकिएको छ। सडकमा ठूलो खाडल बनेको कारण त्यो सडक हुँदै यातायातका साधन भने सञ्चालन हुन सकेका छैनन्।
त्यहाँ अहिले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र ट्राफिक प्रहरी परिचालन भएका छन्।
गएको असोज ३० गते काठमाडौँको बबरमहलमा पनि मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न बनेको थियो।

