काठमाडौं । अमेरिकाबाट निष्काशनमा परेका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको जिम्मा लगाएको छ । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमै नेपाल ल्याएर बुधबार बिहान छाडेको थियो । विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईका अनुसार ८ जनालाई प्रहरीको जिम्मा लगाइएको छ।
डिपोर्ट हुनेमा एक महिला र सात जना पुरुष रहेको जनाइएको भएको छ । त्यसमा २२ वर्षीय युवक समेत रहेका छन्। यस्तै डिपोर्ट भएकी महिला ३५ वर्षकी छन् । डिपोर्ट भएकाहरुमा सबै भन्दा बढी उमेर भएका एक जना ४७ वर्षका छन् ।
उनीहरुमा मानवतस्करमार्फत अमेरिका गएको हुनसक्ने प्रहरीले सोधपुछका लागि उनीहरुलाई लगेको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोधपुछ गरेर उनीहरुलाई परिवारको जिम्मा लगाउने तयारी गरेको छ । बुधबार नै नियमित उडानमार्फत अमेरिकाबाट निष्काशनमा परेका थप नेपालीहरु आउन लागेको अध्यागमन स्रोत बताउँछ । आठ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ ।

