काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाबाट प्राप्त सहयोग रकमको पारदर्शिता सुनिश्चित गर्न सरकारसँग श्वेतपत्र जारी गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले नेपालमा आएको अमेरिकी सहायता कोषको सदुपयोग वा दुरुपयोगबारे स्पष्ट जानकारी गराउनुपर्ने आवश्यकता औंल्याए। उनले बारम्बार नेपालमा विदेशी सहायता दुरुपयोग भएको चर्चा हुने गरेकाले सरकारले वास्तविक तथ्य सार्वजनिक गर्नुपर्ने बताए।
'यस्तो रकम कति नेपालमा आएको छ र क-कसले प्रयोग गरेका छन्? अर्थ मन्त्रालय वा नेपाल सरकार जसले गर्नुपर्ने हो, त्यसले श्वेतपत्र जारी गरोस्,' उनले भने।
उनले गैरसरकारी संस्थाहरू (एनजीओ) र अन्य माध्यमबाट नेपाल भित्रिएको सहयोग रकमको विवरण सार्वजनिक गरी अनावश्यक भ्रम र गलत प्रचार रोक्न सरकारलाई आग्रह गरे। अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भएको भन्दै नेपाललाई नै बदनाम गर्ने प्रवृत्ति देखिएको बताउँदै सांसद खतिवडाले यस विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।

