काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बर्खास्त गर्न माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्न आग्रह गरे। उनले भने, “किनकि, मन्त्रीज्यूले भन्नुभएको छ कि स्वास्थ्य मन्त्रालयमा कुनै मधेसी रहँदैन।”
स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तिबारे असन्तुष्टि जनाउँदै सांसद सिंहले बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयको विरोध गरे। मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवमा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको थियो।
सांसद सिंहले वरिष्ठताको आधारमा डा। संगिता मिश्रलाई नियुक्त गर्नुपर्नेमा देवकोटालाई प्राथमिकता दिइएको भन्दै आपत्ति जनाए। उनले भने, “संगिता मिश्रसँग मेरो व्यक्तिगत चिनजान छैन, तर उहाँ मधेसी समुदायको आस्थाको एउटा प्रतीक हुनुहुन्थ्यो।”
सांसद सिंहको यो भनाइसँगै स्वास्थ्य मन्त्रालयको नियुक्ति प्रक्रिया र समावेशीताबारे बहस चुलिएको छ। विपक्षी दल तथा विभिन्न पक्षहरूले सरकारको निर्णयको पुनरावलोकन गर्नुपर्ने माग गरेका छन्।

