काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सका अध्यक्ष सहित सञ्चालकले व्यक्तिगत स्वार्थका लागि जनताको लगानी प्रयोग गरेको पाइएको छ ।
इन्स्योरेन्सका अध्यक्ष दीपक कुमार श्रेष्ठ लगायत सञ्चालकले आफन्तको नाममा समेत यती एयरलाइन्सको सेयर लिएर संस्थाको दुरुपयोग गरेको पाइएको हो । संस्थागत सेयर खरिदको नाममा उनीहरुले छोरा, छोरी, श्रीमती लगायतका नाममा सेयर लिएको पाइएको हो ।
एयिएन लाइफ इन्स्योरेन्सले २०८० को असोजमा यती एयरलाइन्सको ४९ प्रतिशत सेयर खरिद गरेको थियो । नियामक निकायको अनुमतिमा डेढ अर्ब रुपैयाँ लगानी गर्दै ४९ प्रतिशत सेयर खरिद गरिएको भनिएको थियो । तर, इन्स्योरेन्स कम्पनीले ४६ प्रतिशत संस्थागत सेयर र बाँकी ३ प्रतिशत व्यक्तिगत सेयर लिएर यती एयरलाइन्स प्रवेश गरेको पाइएको हो ।
इन्स्योरेन्स कम्पनीकै लगानीमा सञ्चालकले श्रीमती, छोरा/छोरी तथा पूर्व सञ्चालकको व्यक्तिगत नाममा समेत यती एयरलाइन्सको सेयर खरिद गरेको पाइएको हो ।
इसेवा छोडेको उपहार श्रीमतिको नाममा सेयर
यती एयरलाइन्समा एसियन इन्स्योरेन्स लगानीकर्ताको रुपमा प्रवेश गरेसँगै यतीले व्यवस्थापकीय टिम नै परिवर्तन गरेको थियो । तत्कालीन प्रमुख कार्यकारी निर्देशक (सीईओ) अनुज रिमाललाई हटाएर सुवास सापकोटा यती एयरलाइन्सको सीईओको रुपमा भित्रिएका थिए ।
पेसाले चार्टर्ड एकाण्टेन्ट रहेका उनी इसेवाको सीईओ छोडेर यती एयरलाइन्समा प्रवेश गरेका थिए । इसेवा छोडेर यतीमा सापकोटा छिर्नुमा नै धेरैले आशंका समेत गरेका थिए । तर, बाहिरका व्यक्तिले गरेको आशंका अनुसार नै उनले श्रीमतीको नाममा यतीको सेयर लिएर प्रवेश गरेको पाइएको छ ।
एशियन लाइफ इन्स्योरेन्सले खरिद भनिएको ४९ प्रतिशत सेयरमध्येबाट सापकोटाले आफ्नी श्रीमती अलिशा घिमिरेको नाममा समेत एक सय कित्ता सेयर हस्तान्तरण गरेको पाइएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेको विवरण अनुसार सापकोटाले यती एयरलाइन्स छिर्नु अघि आफ्नो श्रीमतीको नाममा सेयर लिएर छिरेका हुन् ।
छोरा र श्रीमतीको नामको कम्पनीमा सेयर हस्तान्तरण
एशियन लाइफ इन्स्योरेन्सका अध्यक्ष दीपक श्रेष्ठ र अर्का सञ्चालक राजेशलाल श्रेष्ठले सेयर खरिद बापत आएको कमिशन पारिवारिक कम्पनी मार्फत सेयर खरिद गरेको पाइएको छ ।
दीपक श्रेष्ठका छोरा डेविन श्रेष्ठ र राजेशलाल श्रेष्ठको श्रीमती राजेश्वरीको ५०/५० प्रतिशत लगानी रहेको ग्रो क्यापिटलमा ७ लाख ९९ हजार १ सय कित्ता सेयर लिएका छन् ।
इन्स्योरेन्स कम्पनीका सञ्चालकले बदमासी गरी इन्स्योरेन्सको सेयर छोरा र श्रीमती सञ्चालक रहेको कम्पनीमा ट्रान्सफर गरेका हुन् ।
उनै अध्यक्ष दीपक कुमार श्रेष्ठले छोरापछि आफ्नी छोरी रेमा श्रेष्ठको नाममा समेत सेयर खरिद गरेको पाइएको छ । तथ्यांक अनुसार २०८० को माघ २५ गते उनकी छोरीको नाममा १० कित्ता सेयर यती एयरलाइन्सबाट हस्तान्तरण भएको पाइएको हो ।
यसैगरी २०८० को माघ २५ गते नै एसियन लाइफका पूर्वसञ्चालक समेत रहेका सजल मास्के, हेटौँडाका निषेश श्रेष्ठ, वीरगञ्जका सुशान्त हाडा, काठमाडौं चन्द्रागिरीका परिना प्रधान, हेटौँडाका प्रसिद्ध बैद्य, जनकपुरकै आँचल मास्के र काठमाडौं बुढानीलकण्ठका कृष्णप्रसाद ओझाको नाममा समेत प्रतिव्यक्ति एक/एक सय कित्ता सेयर हस्तान्तरण भएको पाइएको छ । उनीहरु कम्पनीका सञ्चालकसँग नै जोडिएका व्यक्तिहरु नै हुन् ।
सार्वनजिक कम्पनीको खरिद डिलमा बसेर आफ्नो व्यक्तिगत लाभ लिएको विषयमा अरु प्रबद्र्धक तथा सेयरधनीलाई पनि गुमराहमा राखिएको छ । सञ्चालकहरूले यती एयरलाइन्सका सेयर आफ्नो परिवारका सदस्यको नाममा सार्ने निर्णय गरेपछि जनताको लगानीको दुरुपयोग भएको आरोप लगाइएको छ ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ। यस कम्पनीको सञ्चित नाफा करिब ३५ करोड ३५ लाख रुपैयाँ छ। एसियन लाइन इन्स्योरेन्स कम्पनीमा ५१ प्रतिशत सेयर संस्थापक सेयरधनीहरूको रहेको छ भने ४९ प्रतिशत सेयर सर्वसाधारणको छ।
यो पनि हेर्नुहोस्
यती एरलाइन्समा डुब्दै एसियन लाइफको डेढ अर्ब लगानी
गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै क्यानले खोस्यो यतीका सीईओको जिम्मेवारी
यती एयरलाइन्समा एसियन लाइफ भित्रिएपछि बबण्डर, फेरि फुटको संघारमा

