२०८३, आश्विन २२ गते

images

कमसल चामल बेच्ने काठमाडौंका ३ खाद्य गोदाममा छापा

कमसल चामल बेच्ने काठमाडौंका ३ खाद्य गोदाममा छापा

बुधवार, फाल्गुण २८ २०८१०९:३५
बुधवार, फाल्गुण २८ २०८१०९:३५
  • images


    काठमाडौं । ब्रान्डेड चामलको बोरामा कमसल चामल भरेर बिक्री गर्ने तीनवटा खाद्य गोदाम सिल गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली र जिल्ला प्रशासन कार्यालयको टोली, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले संयुक्त रूपमा गोदाम छापा मारेर सिल गरेको हो। 

    गोदाममा गैरकानुनी कार्य भइरहेको थाहा पाएपछि तीनवटै गोदाम सिल गरिएको थियो। काठमाडौंको तार्केश्वर नगरपालिकाको मनमैजु र नागार्जुनमा सञ्चालित खाद्य गोदाममा गैरकानुनी कार्य भइरहेको सूचना प्रहरीले पाएको थियो। 

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार नाम चलेका कम्पनीको बोरामा कमसल चामल प्याक गरेर बेचेको सूचनाको आधारमा प्रहरी टोलीले अनुसन्धान गरेको थियो। 

    सूचनालाई पछ्याउँदै प्रहरी र कर्मचारी पुग्दा ती खाद्य गोदाममा स्थानीय चामल, पीठो र चिउराहरू ब्रान्डेड बोरामा प्याक गरेको फेला परेको थियो। गोदाम सञ्चालकहरूले नाम चलेका ३१ वटा कम्पनीको खाली बोरा जम्मा गर्ने, केही बोरा त्यही प्रिन्ट गर्ने गरेर गोदाममा नै अन्य कम्पनीका नाममा प्याक गर्ने गर्थे। 

    प्रहरीको अनुसार सिल गरिएका गोदाममा २५ सयदेखि ३ हजार बोरा चामल प्याक गरिएको अवस्थामा भेटिएको थियो। गोदाम सञ्चालन गर्ने ३ जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

    तारकेश्वर ९ मनमैजु मा सञ्चालित देवकोटा चिउरा तथा चामल मिलमा छापा मारेर स्थानीय प्रशासनले २५ सय १६ बोरा  चामल र १ हजार ४३ बोरा चिउरासहित गोदाममा सिल लगाएको छ। बलराम देवकोटा र गोपाल देवकोटाले सञ्चालन गरेको सो गोदाम कल्पना बुढाथोकी देवकोटाका नाममा दर्ता रहेको भेटिएको छ। कल्पना देवकोटालाई प्रहरी नियन्त्रणमा लिएको छ। 

    नागार्जुन नगरपालिका–६ रामकोट भीमढुंगामा खगेन्द्र खत्रीले सञ्चालन गरेको शुभलाभ इन्टरप्राइजेज नामक खाद्य गोदाम पनि सिल गरिएको छ। गोदाममा अवैध रूपमा अन्य कम्पनीको १६ सय ४६ बोरा चामल, ५४ बोरा चिनी र नाम चलेका आटा ११ बोरा र दालसहित गोदाम सिल गरिएको छ। यो गोदाममा पनि विभिन्न नाम चलेका कम्पनीका नाममा खाद्य प्याक गरिएको थियो। खगेन्द्र खत्री यसअघि पनि यही कसूरमा सजाय पाएका व्यक्ति हुन्। उनले पटक पटक अर्को कम्पनीको ट्रेडमार्क गलत तरिकाले चोरी गरी प्रयोग गर्दै आएका छन्। 

    नागार्जुन–४ स्थित बाफलमा मुकेश सिंहले सञ्चालन गरेको गढीमाई प्याकेजिङ उद्योग पनि सिल गरिएको छ। गोदाममा ४७ सय ५ बोरा चामल फेला परेको छ। कुलेश्वरमा ठेगाना भए पनि सिंहले नागार्जुनमा गोदाम सञ्चालन गरेका छन्। गढीमाई प्याकेजिङ उद्योगमा फेला परेको ४७ सय ५ बोरा चामल, ४५ बोरा कनिका मस्यौरा ६० बोरा र चिउरा ३४० बोरा सहित गोदाम सिल गरिएको छ। 

    सिल गरिएका तीनवटै कम्पनीहरू एक अर्कामा सम्बन्धित रहेको प्रहरीले बताएको छ। यी गोदामबाट बजारमा बिक्री हुने सामान किन्ने ग्राहकले कहिले कता त कहिले कताको यी गोदामबाट सामान लैजाने गरेको बताएका छन्। यसरी गैरकानुनी तरिकाले आफ्नो ट्रेडमार्क प्रयोग भएको भन्दै एक जना कम्पनी सञ्चालकले प्रहरीमा खबर गरेका थिए। सोही खबर पछ्याउँदै जाँदा प्रहरीले अन्य तीन कम्पनीमा भइरहेको गलत कामको बारेमा जानकारी पाएको थियो। पक्राउ परेका ३ जना सञ्चालकहरूलाई प्रहरीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुसन्धानका लागि जिम्मा लगाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend